काठमाडौं । विभिन्न दलनिकट कर्मचारी संगठनका कारण देशमा सुशासन कायम हुन सकेको छैन । एकातिर भ्रष्टाचार बढेको छ भने अर्कोतिर सरुवा बढुवामा व्यापक विकृति छाएको छ । कर्मचारी संगठनका पदाधिकारीहरु संगठनमा बस्ने, आफ्नो कार्यालयमा काम नगर्ने, कर्मचारी टे«ड युनियनको नाममा स्वदेशदेखि विदेश घुमघाम गर्ने, कर्मचारीहरुलाई भेला, जुलुस र अड्ताल गर्न लगाउने जस्ता विकृतिले गर्दा कर्मचारीतन्त्र भित्र काम गर्ने वातावरण नहुने गरेको छ ।
अर्कोतिर सरकारले सिनियर, जेष्ठता र अनुभवी सचिवहरुलाई बाइपास गरी जुनियर सचिवलाई मुख्यसचिव बनाउने परम्परा बस्न थालेपछि सचिवहरुको मनोबल गिर्दै गएको छ । त्यसैगरी मन्त्रीहरुले आ–आफ्नो पार्टी निकट कर्मचारी खोज्ने परम्पराले पनि विकास निर्माणदेखि सेवाग्राहीका कामहरु सधैं ओझेलमा पर्ने गरेको छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर कर्मचारीहरुले आफ्नो रोजीरोटीको लागि सरकारले दिएको तलबबाट घर खर्च चलाउन पनि समस्या परेका कारण कतिपय कर्मचारीहरु आम्दानी हुने अड्डामा जान घुस खुवाउन वाध्य छन् ।
कांग्रेस र एमाले दुई ठूला दल मिलेर बनेको सरकारले देशमा सुशासन कायम गर्न सकेको छैन । कांग्रेस र एमाले निकट कर्मचारी संगठनका कर्मचारीहरुलाई आ–आफ्नो संगठनको अधिवेशन लागेको छ । नयाँ नेतृत्वको लागि दुवै संगठनका कर्मचारीहरु कार्यालयको काम छोडेर अधिवेशनमा जुटेका छन् । राज्यको तलब, सुविधा खाएर पार्टीको काम गर्न लागिपर्नाले विकास निर्माण र सेवाग्राहीका काम अलपत्र पर्दै गएका छन् । त्योसँगै राज्यव्यवस्था समितिले निजामति कर्मचारीको टे«ड युनियन हटाउने व्यवस्था लागु गर्न खोजेपछि कर्मचारीहरु त्यसविरुद्ध उत्रिएका छन् । त्योसँगै लोकसेवा आयोगले पनि निजामति कर्मचारी ट्रेड युनियन हटाउनुपर्ने विषय उठाएको छ ।
यस्तै कारणले गर्दा कर्मचारीहरुबीच व्यापक असन्तुष्टि बढेको छ । तर, सरकारले निजामति कर्मचारीभित्र दलैपिच्छेका ट्रेड युनियन खडा गरेर कार्यालयको कामभन्दा राजनीतितिर ध्यान दिन थालेपछि टे«ेड युनियन हटाउन खोजेको हो । कर्मचारीहरु भने आफ्नो हक अधिकारको बारेमा आवाज उठाउने संगठन हटाउन खोजेपछि सरकारप्रति असन्तुष्ट भएका छन् ।