काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको छ महिना बितिसकेको छ । सरकारले आर्थिक सुशासन र विकास निर्माणको काम गर्न सकेको छैन । भ्रष्टाचार विकृति र विसंगति दिनप्रतिदिन बढ्दै गएका छन् । महङ्गीले आकाश छोएको छ । सर्वसाधारणको घरमा चुलो नबल्ने अवस्था सिर्जना हुँदै गएको छ । प्रधानमन्त्री मातहतमा रहेको राजश्व अनुसन्धान विभागले राजश्व उठाउन सकेको छैन । राजश्व अनुसन्धान विभागले मात्र राजश्व उठाउन नसकेको होइन भन्सार विभाग र आन्तरिक राजश्व कार्यालयले पनि राजश्व उठाउन सकेका छैनन् । त्यस्तै कर कार्यालयहरुले पनि समयमा कर उठाउन सकेका छैनन् ।
राजश्व उठाउन नसक्दा विकास निर्माणका कामहरु अलपत्र पर्दै गएका छन् । राजश्व अनुसन्धान र आन्तरिक राजश्व कार्यालयमा ब्यापारी र कर्मचारीहरुको सेटिङ चलिरहेको छ । एमाले नेतृत्वको सरकार बन्यो कि देशमा सुशासन भन्दा पनि भष्टाचार, विकृति र विसंगतिहरु मौलाउँदै जाने गरेका छन् । उता, राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरे रहेका छन् । घिमिरेले राजश्व उठाउने भन्दा पनि अधिकांश व्यापारी फर्महरुमा छापा मारि रातारात अर्बपति बन्ने काम गरिरहेको राजश्व अनुसन्धान विभागकै कर्मचारीले नाम नबताउने सर्तमा तामाकोशी सन्देशलाई बताएका छन् ।
राजश्व अनुसन्धान विभागले जति राजश्व उठाउनु पर्ने हो त्यो उठाउन नसकेको र राजश्व उठाउने नाममा कमिसनमा सेटिङ हुने गरेको बताइएको छ । यदि सेटिङ नमिलेको खण्डमा सानालाई तर्साएर ठुला व्यापारीबाट आर्थिक लाभ उठाउने गरेको स्रोतको भनाइ छ । तत्कालीन राजश्व अनुसन्धान विभागका महानिर्देशकहरुले गर्ने काम र हालका महानिर्देशक चण्डि प्रसाद घिमिरेले गर्ने काम आकाश पताल फरक रहेको गुनासो छ । यस्तै अवस्था रहिरहने हो भने तस्कर र माफियाहरुले देशलाई बन्दक बनाउने अवस्था सिर्जना हुन्छ ।
त्यस्तै अनुगमन तथा अनुसन्धान शाखाका प्रकाश पोखरेल विगत लामो समयदेखि राजश्व अनुसन्धान विभागमै शाखा अधिकृत भएर बसेका कर्मचारी हुन् । उनी हाल सो कार्यालयको निर्देशक पदमा विराजमान छन् । त्यसैगरी राजन विसी पनि पथलैया राजश्व अनुसन्धान कार्यालयमा बस्दा उनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो । उजुरी परेपछि अख्तियारले उनलाई पक्राउ गर्न खोज्दा दुई घण्टा ढिला भएपछि पक्राउ हुनबाट बचेका थिए ।
त्यतिबेला पक्राउ गर्न जानेहरुले कमिसन खाएर उनलाई भगाएको आशंका गरिएको थियो । हाल उनी राजश्व अनुसन्धान विभागकै निर्देशक बनेर अनुगमन गर्ने नाममा न्यूरोडका व्यापारीहरुलाई आतंकित बनाउने काम गर्दै आएका छन् । त्यस्तै २ र ३ नम्बर पिलर हेर्न मणिराम पौडेल लागिपरेका छन् । उनै मणिरामले पथलैया र बुटवलको फाइल हेर्ने जिम्मा पाएका छन् । सो फाइल हेर्ने कामबाट पनि उनले ठुलो रकम बार्गेनिङ गर्दै आएको समाचार स्रोतको दावी छ । यी सबै उदाहरणलाई हेर्दा अहिले प्रधानमन्त्री मातहतमा रहेको राजश्व अनुसन्धान विभाग भ्रष्ट कर्मचारी, तस्कर र माफियाको हातमा पुगेको छ ।
उता पशुपति लाठ नाम गरेका व्यापारीले मारवारी र न्यूरोडतिरका व्यापारीहरुलाई तर्साउने काम गर्दै आएका छन् । त्यस्तै एयरपोर्ट हेर्ने जिम्मा दिपेश चालिसेले पाएका छन् । सिन्धुपाल्चोक र रसुवा नाकाको जिम्मा रमेश शेर्पाले पाएका छन् । त्यसैगरी नवराज तिमिल्सिना, दोर्जे लामा, सुवास तिमिल्सिना, ईश्वर गुवाजु, वासु बस्नेत, बुद्धराज बस्नेत, अमृत कार्कीलगायतका व्यापारीहरुलाई जुन क्षेत्रमा तस्करी गर्छन् तिनैलाई त्यही क्षेत्रको सुराकीको जिम्मा दिएर कमाउधन्दा चलाउने गरेका छन् ।
यसरी अवैध रुपमा संकलन गरिएको रकमको भागबन्डा प्रधानमन्त्री कार्यालयमा समेत पुग्ने गरेको स्रोतको भनाइ छ । यस्तो रवैयाले गर्दा राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरे दिनप्रतिदिन बद्नाम हुुँदै गएका छन् । जसले गर्दा राजश्व उठ्न त सकेको छैन नै त्योसँगै महानिर्देशक घिमिरेले राजश्व अनुसन्धानमा बसेर अकुत सम्पत्ति आर्जन गरिरहेको स्रोतको भनाइ छ । महानिर्देशक घिमिरेको कमाउधन्दा चलाउने रवैयाले गर्दा प्रधानमन्त्री कार्यालयसमेत असन्तुष्ट बन्न पुगेको छ ।