बैंकमा थुप्रियो पैसा र लगानीमा जोखिम

राजनीति समाचार

पछिल्लो समय कारोबार बढ्न नसकेको र अर्थतन्त्र चलायमान बन्न नसक्दा बैंकमा पैसा थुप्रिएको छ । लगानीकर्ता, व्यापारी÷व्यवसायी उद्यम गर्न डराएका छन् । वित्तीय संस्थामा पुँजी थन्किने र बजारमा तरलता कायम हुन नसक्दा अर्काे आर्थिक जोखिम देखिन थालेको छ । व्यापारी÷व्यवसायी पनि ऋण लिएर व्यवसाय गर्न डराएका छन् ।

अर्काेतिर वित्तीय संस्थाले ऋण प्रवाहमा लगानीकर्ताहरुलाई असमान व्यवहार गरेको पाइन्छ । ठूला नाम चलेका व्यापारी÷व्यवसायीलाई बिना धितो ऋण दिने वित्तीय संस्थाहरुले साना लगानीकर्ता, व्यवसायीहरुलाई ऋण प्रवाह गर्न झन्झटिलो अवस्था सिर्जना गरेका छन् । वित्तीय संस्थाहरुमा पैसा थुप्रिँदै गर्दा बजारमा पुँजी प्रवाह हुन सकेको छैन । त्यसैले बजार चलायमान पनि हुन नसकेको हो । अर्काेतिर, स्वसिर्जित महंगीको मारमा जनता छन् । महंगीकै मारका कारण अत्यावश्यक बाहेक अन्य चिजहरुका खरिदमा उपभोक्ता खासै चासो भएको पाइँदैन । उपभोक्ता एवं सर्वसाधारण राज्य नेतृत्वले सिर्जना गरेको विकराल अवस्था भागिदार बन्नुपर्ने अवस्था बनेको छ ।

सरकारको ठोस नीति नहुँदा नत लगानी हुन सकेको छ, नत मुलुकमा उत्पादन नै देखिएको । जबसम्म मुलुक परनिर्भर बनिरहन्छ, तबसम्म यो कठिनाईको अन्त्य हुन सक्दैन । अर्थतन्त्रको जोखिम न्यूनीकरण गर्नका लागि नेपालको सन्दर्भमा व्यापार असन्तुलन न्यून हुन जरुरी छ । त्यसैगरी, राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय नीतिका कारण पनि बैंकहरु ऋण प्रवाह गर्न डराइरहेका छन् । उत्पादनमुलक क्षेत्रमा लगानी बढ्न नसके न त अर्थतन्त्र चलायमान हुन सक्छ, न त बजारमा वित्तीय प्रवाह नै हुनसक्छ । यसका लागि सरकारले उपयुक्त र कठोर नीति अवलम्बन गर्न जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *