रामचन्द्र बस्नेत
सत्तासिन ठूलो दल नेपाली कांग्रेसभित्रको व्यापक गुटबन्दीले गर्दा राष्ट्रिय राजनीति नै धरासाही बन्दै गएको छ । खासगरी कांग्रेसको संस्थापन र इतरपक्षबीचको लडाइँले गर्दा राष्ट्रिय राजनीतिमा नै असर परिरहेको छ ।
साना–तिना दलहरु मिलेर बनेको सरकार सधैं अस्थिर हुने र ६÷६ महिनामा सरकार ढल्ने प्रवृत्तिले डेरा जमाएपछि पछिल्लो समय कांग्रेस र एमाले दुई ठूला दल मिलेर स्थिर सरकार बनाउने अभ्यास गरेका थिए । कांग्रेस र एमाले दुई ठूला दल मिल्दा सरकारमा झन्डै दुई तिहाई बहुत हुने भएकाले कतिपय संविधानमा बाझिएका विषयहरुलाई संसोध गर्ने भनिएको थियो । त्योसँगै दीर्घकालीन विकास निर्माण, सुशासन र आर्थिक समृद्धिमा अगाडि बढ्ने भनिएको थियो । जनताले पनि सधैं अस्थिर सरकारको सामना गर्नुभन्दा स्थिर सरकार बनोस् जसले जनजीविकाको सवालमा काम गरोस् भन्ने अपेक्षा गरेका थिए ।
तर, सरकार त्यसको उल्टो दुई तिहाई बहुमतको आडमा अध्यादेशमार्फत एकलौटी चल्न थालेपछि राजनीतिक पार्टीबीचमा असन्तुष्टि भएपछि संविधान संशोधनको विषय टाढिँदै गएको छ । दुई ठूला दलले सरकार बनाउनु अगाडि स्थिर सरकार बनाएर संविधान संशोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, अहिले आएर संविधान संशोधन नहुने स्थिति सिर्जना हुन थालेको छ । त्यसै विषयलाई लिएर कांग्रेसभित्र संस्थापन पक्ष र इतरपक्षबीच मनमुटाव सुरु भएको थियो । सरकारभित्र पनि एक पक्ष संविधान संशोधन गर्नुपर्छ भन्ने अर्को पक्ष संविधान संशोधन गर्नुहुन्न भन्नेबीच पनि विवाद सिर्जना भएको थियो ।
त्यसैगरी दल फुटाउनेदेखि विभिन्न अध्यादेश ल्याउन लागिरहेको थियो । पछिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीले नै सार्वजनिक कार्यक्रममा आफू कुनै दल फुटाउने अध्यादेश ल्याउन नलागेको अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले यो सरकारको आयु लम्बिने संकेत गरेको छ । यसले कांग्रेसको आन्तरिक झगडा भने झन् चर्किने देखिन्छ । किन कि कांग्रेसको इतरपक्षले यो सरकारलाई त्यति रुचाएको छैन ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने यो सरकारलाई पुरै अवधि टिकाउने लाइनमा देखिन्छन् । त्यसको अर्थ हुन सक्छ इतर पक्षका नेता शेखर कोइरालालाई अलमल्याउने र महामन्त्री गगन थापालाई सभापतिको पासा फालेर डा. आरजु राणा देउवालाई प्रधानमन्त्री बनाउने । त्यसको डिजाइन प्रधानमन्त्री ओलीले भित्रभित्रै गरिरहेका छन् । यो खेलोमेलोले गर्दा कांग्रेसभित्र झन् किचलो हुने आंकलन गरिएको छ । तर, त्यसो गरिए तापनि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई सत्ताको नेतृत्व दिएर एमालेलाई खियाउने काम भित्रभित्रै गरिरहेका छन् । उता, एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली भने कांग्रेस सभापति देउवाको ललिपपमा रमाइरहेका छन् ।