काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामकुमार गुप्तालाई एमाले नेता रघुवीर महासेठले मन्त्री बनाएका थिए । मन्त्री गुप्ता महासेठको डिजाइनमा नचलेपछि उनीहरुबीच टसल सुरु भएको छ । मन्त्री गुप्ताकै कारण संघीय मन्त्रालयमा कर्मचारी सरुवा, बढुवादेखि वृत्तिविकासमा समेत असर परेको भन्दै महासेठ असन्तुष्ट बनेका छन् । मन्त्री गुप्ता र तत्कालीन सचिव भरतमणि सुवेदीबीचको टसलले गर्दा रघुवीर महासेठ र शंकर पोखरेलबीच पनि सम्बन्ध चिसिन पुगेको छ ।
किन कि गुप्तालाई महासेठले मन्त्री बनाएका थिए भने सचिवमा सुवेदीलाई अन्त्रबाट संघीय मामिलामा शंकर पोखरेलले ल्याएका थिए । मन्त्रीसँगको टसलले गर्दा सचिव सुवेदी सरुवामा परेका छन् । त्यसपछि मन्त्री गुप्ता र नेता महासेठबीच टसल सुरु भएको छ । एमाले नेता नै असन्तुष्ट भएपछि संघीयमन्त्री गुप्ताको पद धरापमा पर्ने खतरा बढ्दै गएको छ । भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा पठाएर निर्वाचन आयोगका रविलाल पन्तलाई संघीय मामिला मन्त्रालयको सचिवमा ल्याइएको छ ।
संघीय मामिलामा सचिव परिवर्तन गरे तापनि कर्मचारी सरुवा, बढुवामा पारदर्शीता हुने देखिँदैन । किन कि संघीयमन्त्रालयभित्र सधैं कांग्रेस र एमाले निकट कर्मचारीबीच लफडा चलिनै रहन्छ । त्यसमा माओवादी केन्द्र निकट कर्मचारीहरुले खेल्ने गरेका छन् । त्यसले गर्दा पनि संघीय मन्त्रालय चलायमान हुन सकेको छैन । मन्त्री गुप्ताले संघीय निजामती ऐन ल्याउन पहल नगरेको आरोप कर्मचारीहरुले लगाउने गरेका छन् । मन्त्रीे गुप्ताकै कारण एमालेभित्र विवाद सिर्जना भएको छ । अधिकांश एमालेले सम्हालेका मन्त्रालयमा मन्त्रीहरुले काम गर्न नसकेको आरोप त्यत्तिकै छ । त्यसमा भूमि, उद्योग, रक्षा, अर्थ, भौतिकलगायतका मन्त्रीहरुले काम गर्न नसकेको र विवादमा मुछिने गरेका कारणले एमाले पार्टी नै बद्नाम हुन पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कामको प्रगति विवरण देखाउन नसक्ने मन्त्रीहरुलाई फेरबदल गर्ने भने तापनि अहिलेसम्म त्यो गर्न सकेका छैनन् । सत्तासाझेदार दल कांग्रेसले पनि राम्रो गर्न नसक्ने र विवादमा तानिएका मन्त्रीहरुलाई फिर्ता बोलाउने भने तापनि संस्थापन पक्ष र इतरपक्षको कुरा नमिल्दा अहिलेसम्म त्यो गर्न सकेको छैन । उल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाएर मन्त्रालयको ब्रिफिङ लिएका छन् । कामको ब्रिफिपङ लिएपछि आफ्नो मन्त्रालयको जिम्मेवारीपूर्वक काम गर्नु, सांसद र कार्यकर्ताको गुनासो सुन्न भनेका छन् । त्यसले गर्दा पनि मन्त्रिमण्डल परिवर्तन हुने छाँटकाँट देखिँदैन ।