एकीकृत समाजवादी पार्टी ‘घर न घाट’ को अवस्थामा

राजनीति समाचार

काठमाडौं । नेकपा एमाले फुटाएर एकीकृत समाजवादी पार्टी गठन गरेका माधव कुमार नेपाल यतिबेला ‘घर न घाट’को भएका छन् । माधव नेपालले एमाले फुटाएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि सो पार्टीनिकट विभिन्न जनवर्गी संगठनदेखि पत्रकार, कर्मचारी र विद्यार्थी संगठनहरु पनि जन्मिएका थिए । एकीकृत समाजवादी पार्टीले गत आमनिर्वाचनमा कांग्रेस र माओवादीसहितको गठबन्धनबाट प्रत्यक्षतर्फ संघमा १० सिटमा हासिल गर्न पुगेको थियो । त्यस्तैगरी प्रदेश र स्थानीय तहमा पनि केही सिटमा जित हासिल गरेको थियो । संघमा प्रत्यक्षतर्फ १० सिटमा जित हासिल गरेपनि समानुपातिकमा सिटमा राष्ट्रिय मान्यता पाउन सकेन ।

गठबन्धनको खेलोफड्कोबाट सरकारमा सहभागी हुन पुगेको एकीकृत समाजवादी पार्टी यतिबेला संगठित हुने भन्दा पनि छिन्नभिन्न हुँदै गएको छ । समाजवादीमा आबद्ध भएका नेता÷कार्यकर्ता छिन्नभिन्न भएसँगै कर्मचारी, पत्रकार र विभिन्न जनवर्गीय संगठनहरु पनि छिन्नभिन्न हुँदै गएका छन् । एमालेमाभन्दा एकीकृत समाजवादीमा पार्टीमा सिद्धान्तनिष्ठ, बौद्धिक र विचारवान नेता÷कार्यकर्ताको बाहुल्यता भए तापनि केही एमालेभित्र बसेर आर्यआर्जनको धन्दा चलाउनेहरु समाजवादीमा त्यो सम्भावना नदेखेपछि एमालेतिर फर्किन थालेका छन् । उता, कर्मचारीभित्र पनि एकीकृत सहकारी कर्मचारी संगठनभित्र रहेका केही स्वार्थी कर्मचारीहरु सो संगठन छोडेर एमाले निकट कर्मचारी संगठनतिर मोडिएका छन् ।

त्यसैगरी समाजवादी प्रेस संगठनको नाममा कमाउधन्दा चलाउने पत्रकारहरु पनि एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालमा शरण लिन पुगेका छन् । त्यो पंत्तिमा समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीदेखि केही पदाधिकारी र सदस्यसमेत रहेका छन् । समाजवादी प्रेस संगठनको यो हर्कतले एमाले निकट प्रेस चौतारीलाई अधिवेशन मुखमा आफइदा पुगेको छ । समाजवादी प्रेस संगठनबाट चौतारीमा आएकाहरुबाट प्रेस चौतारीलाई तत्काल फाइदा भए तापनि त्यसभित्रको विभिन्न गुटउपगुट र व्यक्तिवादी चरित्रले गर्दा दीर्घकालीन फाइदा हुने देखिँदैन । यतिबेला पत्रकारसँगै एकीकृत समाजवादी पार्टी निकट रहेका नेता÷कार्यकर्ता, कर्मचारी, जनवर्गीय संगठनका पदाधिकारीहरुलाई विभिन्न आश्वासन दिएर एमालेमा भित्र्याउने प्रपञ्च रचिरहिएको छ ।

उता, एमाले निकट निजामति कर्मचारी संगठनको अधिवेशन नजिकिँदै गर्दा समाजवादी निकट र माओवादी निकट कर्मचारीहरुलाई पनि एमालेमा प्रवेश गराइँदै छ । त्यसले गर्दा पनि एकीकृत समाजवादी पार्टी झन् कमजोर हुँदै जाने देखिन्छ । यदि एकीकृत समाजवादी पार्टीले विभिन्न जनवर्गी संगठनदेखि भ्रातृ, मातृ तथा शुभेच्छुक संस्थाहरुलाई संगठित गर्न नसकेको खण्डमा नेताहरु मात्रै सीमित हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *