काठमाडौं । प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले आफ्नो कमजोरी लुकाउनलाई अध्यादेश ल्याएको बताएका छन् ।
प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा शुक्रबार सम्बोधनका क्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले कांग्रेस-एमाले सरकार गठनको ६ महिना पुगिसक्दा पनि देखाउने राम्रो काम नभएपछि आफ्नो कमजोरी लुकाउनको लागि अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् । अध्यादेश ल्याउने होड, बाजीका कारण सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी सिर्जना गरेर यो अध्यादेश पारित गर्नुपर्छ, अर्को उपाय छैन,भन्ने भाष्यको निर्माण गरिएको पाण्डेले बताएका छन् ।
दुईवटा ठूला पार्टीले सम्झौता गरेर सरकार बनाएको ६ महिनाबीचमा देखाउन लायक केही कामहरु नभएकोले उनले सरकारलाई अधिवेशन शुरु हुनै लाग्दा अध्यादेश ल्याउनुको कारणबारे प्रश्न गरेका छन् । उनले सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी अवस्था सिर्जना गरेर अध्यादेश पारित गर्नुपर्ने, अध्यादेशबारे छलफल गर्ने ठाउँ नै छैन भन्ने अवस्था सत्तारुढ दलहरूले ल्याएको टिप्पणी गर्दै अध्यादेश सरकारले दुईवटा अधिवेशनबीचमा विशेष आवश्यकता पर्यो भने ल्याउने संवैधानिक व्यवस्था रहेको छ । तर, सरकारले अब केही दिनभित्रै अधिवेशन शुरु हुने बुझेर हतारमा ल्याइएको भनि विश्लेषण समेत गरेका छन् ।