काठमाडौं । राष्ट्र बैंकले प्रकाशित गरेको ६ महिनाको तथ्यांकअनुसार ४ दशमलव १ प्रतिशतले वृद्वि भएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिट्यान्स भित्रिदाँ गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले वृद्वि भएको हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दशमलव एक प्रतिशतले वृद्धि भई पाँच अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । महिनैपिच्छे रेमिट्यान्सको आकार बढ्दो रहेकोले मुलुकको विदेशी विनिमय सञ्चितिको आकार पनि बढेर २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ। यसबाट मुलुकले १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्थिति बनेको छ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय सात खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो । केन्द्रीय बैंकका अनुसार, सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार चार सय ३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार छ सय २८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या क्रमशः दुई लाख ६ हजार तीन सय ९० र एक लाख ३३ हजार नौ सय ४० थियो ।
चालु आर्थिक वर्षको पुससम्ममा ६ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव १४ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) चार अर्ब ५४ करोड रुपैयाँ भित्रिएको थियो। समग्रमा आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव ३ महिनाको वस्तु आयात र १४ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।