छैटौं दिनसम्म राज्य मौन बसेकोले आवासीय चिकित्सकद्वारा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा

देश/विदेश शिक्षा/स्वास्थ समाचार

काठमाडौं । सरकारीसरह पारिश्रमिकको माग गर्दै विगत ६ दिनदेखि आन्दोलन गर्दै आएका आवासीय चिकित्सकहरूले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले (भोलि) मंगलबार देखि देशभरका चिकित्सकहरूलाई काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका हुन् । नेपालका विभिन्न मेडिकल कलेजमा अध्ययनरत रेजिडेन्टहरूको हकहितका लागि आवाज उठाउँदै आन्दोलन गर्दै आएको समितिले देशभरका डाक्टरहरूलाई माइतीघर मण्डलामा आएर आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ ।

सरकार र चिकित्सा शिक्षा आयोगले छैटौं दिनसम्म आन्दोलन गर्दा समेत राज्य मौन बसेकोले देशैभरिका सम्पूर्ण इन्टर्न, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सकहरूले माग पुरा नहुँदासम्म सेतो कोटमा माइतीघर मण्डलामा उपस्थित हुन लागिएको उनिहरुले बताएका छन् । उनीहरूले ओपीडी सेवा बहिस्कार गर्नुका साथै पेन डाउन गर्दै विरोध गर्दै आएका छन् । तर, हालसम्म पनि सरकारले माग सम्बोधनका लागि कुनै निर्णय नगरेको सरकार र चिकित्सा शिक्षा आयोगले आफ्नो अधिकार सुनिश्चित गर्न र आफूहरूमाथि भएको चरम श्रम शोषण बन्द गराउने निर्णय नगर्दा सम्म विरोधका कार्यक्रम बढाउँदै जाने आन्दोलनरत चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानूनी व्यवस्था गर्ने निर्णय गरेपछि,त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा होमिएका हुन् । श्रम शोषण र आत्मसम्मानमाथिको गम्भीर प्रहारविरुद्धको लडाइँका कारण परिरहेको अप्ठ्यारोबारे सबैले बुझिदिन समेत उनिहरुले अनुरोध गरेका छन् । समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले गरेको तीन बुँदे निर्णय खारेज गर्नुपर्ने माग गरेको गर्दै सारा नेपाली डाक्टरहरूको अपमान भएको बताउँदै समितिले निर्णयहरू खारेज हुनुपर्ने माग अघि सारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *