काठमाडौं । चितवन साहारा सहकारी ठगी मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध बहस गर्न तीन जिल्लाबाट सरकारी वकिलहरु झिकाइएको छ ।
चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित तीन जना सरकारी वकिलले बुधबार बहस गरेका थिए भने महान्याधिवक्ता कार्यालयले सहकारी ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बाराका न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका भोलानाथ निरौला र धादिङका दशरथ पंगेनीले रविविरुद्ध थुनछेक बहस बिहीबार बिहान गरेका हुन्।
उनीहरूको बहसपश्चात् सहकारी पीडित जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले बहस गर्दै छन् भने उनीहरूले बहस सकेपछि प्रतिवादी रवि पक्षका वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले बहस गर्ने तालिका रहेको अदालतले जनाएको छ। चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोगपत्र दर्ता भएको थियो। अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए।
चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप रहेको छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख एक हजार एक सय ५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग रहेको छ। यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी रहेको छ। उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ। अरु १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ।
नेपाल सरकारको मुद्दामा कमजोर बहस नहोस् सत्य तथ्यसहित जोडतोडले बाहिर आउन सकुन् भन्ने उद्देश्यले जिल्लाका सरकारी वकिलको बहसलाई थप बल प्रदान गर्न अन्य जिल्लाबाट सरकारी वकिल झिकाइएको कार्यालय स्रोतले जनाएको छ ।