काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँगको घटना सार्वजनिक गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । कार्यालय अनुसन्धानका अनुसार चालु आर्थिक वर्ष ६ महिनाको तुलनामा सम्बन्धित आठ वटा मुद्दा दायरहुँदा सोही अवधिमा राजस्व चुहावटसम्बन्धी मागदाबी रकम र मुद्दा सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको उल्लेख गरेको छ ।
कार्यालयले चालु आवको ६ महिनामा चुहावट धरौटी रकम दुई करोड ९८ लाख रुपैयाँ सङ्कलन गर्दा गत आवको सोहीे अवधिमा एक करोड ५२ लाख रुपैयाँ धरौटी राज्य कोषमा दाखिला भएको थियो । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटीएस जरिवाना रकम पनि १२ लाख ४३ हजार बढी रुपैयाँ सङ्कलन भएको जनाइएको छ । कार्यालयले चालु वर्षको ६ महिनाको अवधिमा भिसिटिएस जरिवाना रकम ४७ लाख ४३ हजार सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा ३५ लाख सङ्कलन गरेको थियो ।