काठमाडौं । पूर्वी पहाडी जिल्ला भोजपुरमा पछिल्लो समय खुकुरीको व्यवसाय धरासायी बन्दै गएको छ ।
युवा पलायन र कच्चापदार्थको अभावका कारण खुकुरी बनाउने आरन उद्योगहरूको सङ्ख्या दिनानुदिन घट्दै गएकोले दक्ष कालिगडको कमी हुनुका साथै अर्कोतिर सिप सिक्नुपर्ने युवा विदेश पलायनहुँदा त्यसको मार यस व्यवसायमा परेको हो । भोजपुरमा बनेको खुकुरी नेपाल मात्र नभएर देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ ।
राणाकाल र पञ्चायतकालदेखि नै प्रसिद्ध भोजपुरे खुकुरी जनशक्ति र सल्लाका काठ, कोइला, गोल जस्ता कच्चापदार्थको अभावका कारण उत्पादनमा कमी आउन थालेको उद्यमीहरूको गुनासो रहेको छ । जिल्ला सदरमुकामका साथै कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटार लगायत क्षेत्रहरूमा भोजपुरे खुकुरी बनाउने गरिएको छ । कालिगड र वनपैदावर कच्चापदार्थ अभावमा यी क्षेत्रका उद्योगहरूसमेत बन्द हुने अवस्थामा पुगेका त्यहाँका स्थानीयहरुको भनाइ रहेको छ ।
स्थानीय बजारमा प्रतिगोटा खुकुरीको मूल्य ८ सयदेखि एक हजार ८ सय रुपैयाँसम्म पर्ने गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा बुदुने र बाँसपाते खुकुरीहरू बढी प्रयोगमा आउने गरेकोले यहाँको खुकुरी धरान, उदयपुर, खाँदबारी, काठमाडौंहुँदै बाहिरी मुलुकहरूमा समेत चिनो, उपहार र सजावटका लागि ढुवानी हुने गरेको छ । यसको संरक्षणका लागि सरकारी तवरबाटै पहल गरिनुपर्ने यहाँका व्यवसायीको माग रहेको छ ।
१९६५ सालदेखि नै खुकुरी उत्पादन शुरु गरिएको बताइन्छ । २०२७ सालतिर तत्कालीन राजा महेन्द्र जिल्ला भ्रमणमा आएका बेला बोखिमका स्थानीय सिंगबहादुर विकले उपहारस्वरूप खुकुरी दिएको र राजा बक्सिससहित यसको प्रचार भएपछि यहाँको खुकुरी लोकप्रिय भएको स्थानीयहरुको भनाइ रहेको छ ।