काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । सहारा सहकारी ठगीमा मंगलबार रविसहित ३२ जनाविरुद्ध चितवन अदालतमा अभियोग पत्र दायर भएको हो। आफूविरुद्ध मुद्दा दर्ता भएपछि लामिछाने भोलिपल्टै बुधबार अदालत हाजिर भएका थिए। पहिलो दिन उनको बयान सकेर थुनछेक बहस सुरु गरिएको थियो।
तर बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो।बिहीबार पुनःअदालतमा उपस्थित गराएपछि सुरुमा सरकारी वकिल र जाहेरवालाका कानून व्यवसायीले बहस गरेका थिए । बिहीबार बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका भोलानाथ निरौला र धादिङका दशरथ पंगेनीले अभियोजनका पक्षबाट बहस गरेका थिए।
चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप रहेको छ । गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख एक हजार एक सय ५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोगमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी रहेको छ। उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ भने अरू १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ।