राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तिय संस्थामा २५ करोड रुपैयाँ निक्षेप लगानी गर्दै

अर्थ/वाणिज्य बैंक समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका विभिन्न बैंक तथा वित्तीय संस्थामा २५ करोड रुपैयाँ बराबर रकम निक्षेपमा लगानी गर्ने भएको छ ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने सर्त अनुरुप शुक्रबार जारी गरेको सूचनामा विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने जनाएको हो ।

त्यसैगरी निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिबाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त रहेको छ ।

त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंककोले राखेको छ । वाणिज्य बैंकमा २० करोड, विकास बैंकमा ३ करोड ७५ लाख र वित्त कम्पनीमा १ करोड २५ लाख निक्षेपमा लगानी गरिने छ । ६ फागुन २०८१ देखि ६ फागुन २०८२ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *