काठमाडौं । किसानको दूधको पैसा नियमित भुक्तानी दिने विषयमा सम्बन्धित निकायहरू नै अन्योलमा परेको सरोकारवालाले बताएका छन् ।
चितवनको भरतपुरमा जारी ‘पहिलो राष्ट्रिय डेरी एक्स्पो’मा पनि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीकै प्रतिनिधिहरूले भुक्तानी दिने विषयमा स्पष्ट योजना वा समाधान दिन सकिराखेका छैनन् । तीन दिनसम्म चल्ने एक्स्पोको दोस्रो दिनको छलफलमा सहभागी दुग्ध विकास संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले सरकारबाट ऋण अनुदान नलिइ किसानको पैसा तिर्ने अवस्था नरहेकोले स्वदेश तथा विदेशमा बिक्री गर्न सकेमात्र किसानलाई रकम भुक्तानी गर्न सक्ने बताएका छन् ।
केन्द्रीय दुग्ध सहकारी संघका अनुसार किसानले दुग्ध विकास संस्थान र निजी डेरी उद्योगीहरूबाट झण्डै साढे दुई अर्ब रुपैयाँ पाउन बाँकी रहेकोले यो समस्या नियतभन्दा पनि स्टक बिक्री गर्न नसक्दा आएको जनाएको छ । छलफलमा उपस्थित किसानहरूले नेतृत्वमा रहेका र नीति निर्माणमा भएकाकै कमजोरी कारण दूधको नियमित भुक्तानी पाउन नसकेको बताउँदै भारतबाट नेपालका उद्योगीले लुकाएर ल्याउने पाउडर दूध र डेरी उत्पादनका कारण नेपालमा समस्या उत्पन्न भएकोले भारतबाट पाउडर दूध ल्याउन रोक लगाइयो भने नेपालमा ‘मिल्क होलिडे’ हुने थिएन र किसानले नियमित पैसा पाउने उल्लेख गरेका थिए ।
डेरीमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नारासहित चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा संचालन भएको एक्स्पो आजसम्म चल्नेछ ।प्रदर्शनीमा डेरी तथा पशु आहार उद्योगमा आवश्यक मेसिनरी तथा उपकरण, डेरी सफ्टवेयर, डेरीका विभिन्न उत्पादन, दूध सहकारी, पशुपालनका सामग्री, आहारा, औषधि, डेरी प्याकेजिङ उद्योगका करिब सय स्टल रहेका छन् ।