काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापनाका साथै दुई वर्षभित्र चार अर्ब रुपैयाँ लागतमा १४ बिघा क्षेत्रफलमा ६ वटा उद्योग निर्माण गरिने भएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सोमबार ‘बिग इन्डस पदमनगर’को शिलान्यास गर्दै यसले देशको उद्योग क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । नेता खनालले निजी क्षेत्रले धेरै काम गर्न सक्छन् र देशभक्त उद्यमीले देशमै उद्योगधन्दा सञ्चालन गरी रोजगार सृजना गर्न सक्षम छन् भन्ने यो एउटा उदाहरण हो उल्लेख गरेका छन् । उनले देशभित्रै उद्योगधन्दा सञ्चालन गरी बेरोजगारीको समस्या समाधानसहित युवाहरूको बढ्दो विदेश पलायन रोक्न सकिने विचार व्यक्त समेत गरेका छन् ।