काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि एक महिने निःशुल्क परीक्षण अभियान सञ्चालन गर्ने भएको छ ।
फागुन १ गतेबाट सञ्चालन हुने यस अभियानमा करिब एक करोड मानिसहरूको निःशुल्क रोग परीक्षण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । नेपालमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथि उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले लिएको हो । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गर्ने गरी यो सेवा निःशुल्क हुने मन्त्रालयले जनाएको छ।
गत साउन २७ गते स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्ष माथिका सबैलाई निःशुल्क परीक्षण गर्ने योजना रहनुका साथै रोगको प्राथमिकतामा उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख गरिएको थियो ।
गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए। यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो। फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्धसमेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको रहेको छ।