काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनको १२ औंै महाअधिवेशन भव्य रुपमा सम्पन्न हुँदैछ । कर्मचारी संगठनले अधिकांश जिल्ला र प्रदेशहरुमा अधिवेशन सम्पन्न गरिसकेको छ भने संघको १२ औंै महाधिवेशन आज उद्घाटन हुँदैछ । कर्मचारी संगठनको सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
कर्मचारी संगठनको १२ औं महाधिवेशनमा देशभरबाट करिव आठ सय पतिनिधिहरु सभागी जनाइएको छ । उक्त महाधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा गर्दैछन् । कर्मचारी संगठनको १२ महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वको लागि आकांक्षीहरु धेरै देखिएका छन् । अध्यक्षको लागि हालका उपाध्य रेवन्त गौतम, प्रभाष शाह र भवानी दाहाल आकांक्षी रहेका छन् । महासचिवमा आरसी अधिकारीको नाम चर्चामा रहेको छ । अन्य पदाधिकारीको नाम सार्वजनिक भएको छैन ।
महासचिवका दावेदार आरसी अधिकारी खुलेर मैदानमा आए तापनि अन्य पदाधिकारीका आकांक्षीहरु खुलेर आउन सकेका छैनन् । संगठनले नयाँ नेतृत्व सर्वसम्मत चयन गर्छ कि निर्वाचनबाट गर्छ त्यो एकिन भइसकेको छैन । सर्वसम्मत नेतृत्व चयन गर्दा विवाद सिर्जना हुने र संगठन एक ढिक्का भएर चलायमान नहुने कर्मचारीहरुको भनाइ छ । त्यसले गर्दा चुनावी प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा कर्मचारीको छ ।
उता पार्टीले भ्रातृ तथा जनवर्गीय संगठनदेखि विभिन्न संघसंस्थाहरुमा सर्वसम्मत पदाधिकारी चयन गर्ने उर्दी जारी गरेको छ । एमालेभित्र गुटउपगुट खडा भएको कारणले सर्वसम्मत नेतृत्व चयन गर्ने भनिरहँदा इमान्दार, जेष्ठता र क्षमतावान कार्यकर्ता पाखा लाग्ने देखिन्छ । सर्वसम्मत नेतृत्व चयन गर्ने परिपाटीले “जी हजुरी” गर्नेहरुलाई काखी च्याप्ने प्रवृत्ति बढ्दै गएको छ । त्यसले गर्दा एमालेभित्र व्यापकरुपमा असन्तुष्टि छाएको छ । पार्टीमा विवाद आएकै कारण बैदेशिक रोजगार संघको निर्वाचन भाडिन पुगेको छ । बैदेशिक रोजगार संघमा एमालेनिकट व्यवसायीहरुमा एकता नहुँदा अन्य दलनिकट व्यवसायीहरु हावी हुन पुगेका छन् । फागुन २ गते गर्ने भनिएको वैदेशिक रोजगार संघको निर्वाचन असारतिर धकेलिएको छ ।
त्यसैगरी निजामति कर्मचारी संगठनको निर्वाचन सर्वसम्मत गर्ने भनिएको छ तर आकांक्षीहरु धेरै भएको कारणले नेतृत्व चयन हुन्छ कि हुदैन भन्ने आशंका बढेदै गएको छ । पटक–पटक उपाध्यक्ष पदमा संगठनलाई चलायमान बनाउन लागिपरेका व्यक्तिलाई सर्वसम्मतको नाममा पाखा लगाउने काम भइरहेको कर्मचारीहरुको आँकलन छ । अध्यक्षका आकांक्षीमध्ये रेवन्त गौतम पटक–पटक उपाध्यक्ष पदमा रहेर काम गरेका कुशल र अनुभवी कर्मचारीमा गनिन्छन् । संगठनले सर्वसम्मत नेतृत्व चयन गर्दा गौमलाई नै अगाडि सार्छ कि अन्य व्यक्ति ल्याउँछ त्यो एकिन भइसकेको छैन ।