काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले मेटाएर ‘जनयुद्ध’ नमेटिने बताउँदै यो राष्ट्रिय दिवस नै भएको उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रियाा नटुङ्ग्याएको कारण देखाएर अदालतले स्थगन गरेपनि यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताउँदै ’त्यसका लागि सबै माओवादी धारलाई एक हुन उनले अपिलसमेत गरेका छन् । ‘हामी एक भएर मात्रै क्रान्तिका उपलब्धिको रक्षा गर्नपनि सकिन्छ र प्रतिक्रान्तिको खतराका विरुद्ध लडेर विजयी हुन पनि सकिन्छ,’ प्रचण्डले भने, ‘आजको दिन म सम्पूर्ण कमरेडहरुलाई एकताको निम्ति अपिल गर्दछु ।’
अध्यक्ष दाहालले प्राप्त उपलब्धीलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको बताएका छन् । उनले प्रतिक्रियावादी शक्तिहरुले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेक गतिविधि गरिरहेको टिप्पणी गरेका छन् ।
विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायत उत्पीडित समुदाय र क्षेत्रको एजेन्डामा फर्केको उल्लेख गर्दै उहाँले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रूपमा ग्रहण गरिरहेको बताएका छन् ।
आफ्नो वर्ग र समुदायतर्फ फर्कँदै जनताका एजेण्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेका उल्लेख गर्दै उनले यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको बताएका छन् । क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र विफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गर्दै क्रान्तिकारी शक्तिहरूलाई एकता र ध्रुवीकरणका लागि प्रचण्डले आह्वान गरेका छन् ।