काठमाडौं । आहरारा पोखरा गोल्डकप २४औं को दोस्रो सेमिफाइनलमा आज थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
थ्रीस्टार र ब्ल्याक बुल्स दुवै एक–एक खेल जित्दै सेमिफाइनल पुगेका हुन् । खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ । पाँचपटकको विजेता थ्रीस्टारले क्वाटरफाइनलमा मछिन्द्र एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । यस खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै पहिलो पटक नेपालमा आएर खेलिरहेको ब्ल्याक बुल्सले भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई हराएर सेमिफाइनल पुगेको हो । आजको खेलको विजेता र नेपाल पुलिसबीच उपाधिका लागि शनिबार फाइनल हुनेछ ।
मनाङ मर्स्याङ्दीसँगै सर्वाधिक ६ पटकको च्याम्पियन पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै फाइनल पुगेको हो । प्रतियोगिताको विजेताले नगद १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछन् ।