आवतजावत गर्न सहज भएसँगै मुस्ताङ बन्यो चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य

मनोरञ्जन समाचार

काठमाडौं । बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै मुस्ताङ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ ।

संघीय राजधानी काठमाडौंबाट एक दिनमै आउन सकिने हुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन् ।

हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको छ ।
यस पालिकामा ढुम्बाताल र क्षमाताल अवस्थित छ । वारागुङ मुक्ति क्षेत्रमा मुक्तिनाथ मन्दिर, कागबेनी, झोङ, तेताङ, छुसाङ, मुस्ताङ गेटलगायत स्थानमा चलचित्र छायाङ्कन गर्ने गरिएको छ ।

लोमान्थाङमा मुस्ताङी राजाको सात सय वर्ष पुरानो दरबार, गुफा, गुम्बा, माने र छोर्तेनहरु अवलोकन गर्न सकिन्छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि गुरु पद्यसम्भवले निर्माण गरेको लोघेकर गुम्बा, चराङ गुम्बा, ढाक्मर रेड पहाडलगायत यहाँका संस्कृति झल्काउने मौलिक परम्परागत बस्ती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *