काठमाडौं । आगामी फागुन २ गते सम्पन्न हुने भनिएको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन रातारात स्थगित भएको छ । सत्तासाझेदार दल नपाली कांग्रेस र एमाले निकट मेनपावर व्यवसायीहरु पराजित हुने देखिएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचन स्थगित गरिएको छ । कांग्रेस, एमाले र माओवादी निकट व्यवसायीहरुबीच प्रधिस्पर्धा चलिरहेको बेला कांग्रेस र एमालेभित्र असन्तुष्ट रहेका व्यवसायीहरुले माओवादी निकट गणतान्त्रिक मन्चतिर मत हाल्ने देखिएपछि एकाएक निर्वाचन स्थगित गरिएको हो ।
प्रतिपक्षी दल एकिकृत समाजवादी पार्टीले एमालेलाई सहयोग गर्दा पनि पराजित हुने देखेपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई फोनमार्फत् संघको निर्वाचन रोक्न आग्रह गरेका थिए । प्रधानमन्त्री सो आग्रहपछि देउवाले पनि निर्वाचन रोक्न सुझाव दिएका थिए । स्थगित सो निर्वाचन आगामी २०८२ असारतिर मात्र गर्ने बुझिएको छ । कांग्रेस र एमाले सरकारमा हुँदा पनि विभिन्न जनवर्गी संगठनहरुमा एक्लाएक्लै चुनाव लड्ने हैसियत राख्न नसक्ने भएका छन् । अब कांग्रेस र एमालेले सुभेच्छु छाता संघसंगठनहरुमा गठबन्धन नगरी एक्लै चुनाव लडेको खण्डमा पराजित हुने देखिएको छ । फागुन २ गते हुने भनिएको निर्वाचनमा कांग्रेसबाट भुवन गुरुङ, एमालेबाट नरेश गेलाल र माओवादीबाट रामप्रसाद भन्तना प्रतिस्पर्धामा उत्रिएका थिए ।
सो निर्वाचनमा कांग्रेस, एमाले र माओवादी निकट व्यवसायीहरु छुट्टाछुट्टै प्यानल बनाएर होमिएका थिए । यतिबेला जुनसुकै पेशा व्यवसायीहरुको निर्वाचनमा पनि गैर पेशाव्यवसायका व्यक्तिहरु हावी हुने गरेका छन् । जस्तो पत्रकार महासंघ, वैदेशिक रोजगार व्यवसायी संघ, होटेल व्यवसायी संघ, पर्यटन व्यवसायी संघ (टान) जस्ता पेशा व्यवसायीको संगठनमा गैर पेशाका व्यक्तिहरुको हालीमुहाली हुने गरेको छ । गैर पेशाका व्यक्तिहरु घुसपैठ हुन थालेपछि वास्तविक पेशा व्यवसायीहरु पलायन हुन थालेका छन् । वैदेशिक रोजगार व्यवसायी संघमा पनि वास्तविक व्यवसायीहरु पेशाबाट पलायन हुने देखिन्छ ।
त्यसले गर्दा सर्वसाधारणहरु ठगिन पुगेका छन् । बैदेशिक रोजगार व्यवसायी महासंघको निर्वाचन जित्नलाई कम्तिमा एक व्यक्ति बराबर पन्ध्रदेखि बीस लाख खर्च हुने भनाइ छ । कतिपय मेनपावर व्यवसायीहरुले फिरी भिसा र फिरी टिकटमा नेपालीहरुलाई खाडी मुलुकहरुमा पठाइरहँदा गैरव्यवसायीहरुले एक व्यक्ति बराबर देश हेरेर एक देखि तीन लाखसम्म असुल्ने गरेको भनाइ छ । अहिले वैदेशिक रोजगारीको नाममा दिनप्रतिदिन ठगीका घटनाहरु बढिरहेका छन् । सो ठगी काण्डमा मेनपावर व्यवसायी संघका पदाधिकारी, अध्यागमन कर्मचारी, श्रम डेस्कका कर्मचारी र प्रहरीकोसमेत मिलेमतो हुने गरेको छ ।
यिनै व्यक्तिको मिलेमतोमा फिरी भिसा, फिरी टिकटको नाममा सर्वसाधारणलाई घरेलु कामदारदेखि विभिन्न कामको प्रलोभन देखाएर विदेश पठाउने गरिएको गुनासा आइरहेका छन् । तर, मेनपावर व्यवसायीहरुको हकहितको लागि आवाज बुलन्द गर्ने र विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्दार तथा व्यवस्थापन गर्ने भनेर खाड गरिएको वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन भने राजनीतिक पार्टीको हस्तक्षेपका कारण स्थगित भएको छ ।