काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्धय सोविता गौतम र सुमना श्रेष्ठले संसदमा बोल्न नदिएको भन्दै प्रचार गरेपछि सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।
सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् । सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताएका थिए । विधेयक पारित गर्नुअघि नै सभामुखले कानून मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि गौतमले प्रोसेस बिग्रिएको भन्दै बोल्न समय मागेकी थिइन । तर, सभामुखले सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सुझाएका थिए । त्यस विषयलाई लिएर गलत ढङ्गले प्रचारबाजी भएकोप्रति सभामुखले असन्तुष्टि जाहेर गरेको उनको निजी सचिवालयले जनाएको हो ।
आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो । त्यो पनि अभ्यास छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको सभामुखको सचिवालयले जनाएको छ । सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई हेर्ने उनको सचिवालयले जनाएको छ ।