काठमाडौं । एमालेका पूर्व नेता डा.भीम रावलले प्रधानमन्त्री केपी ओलीप्रति कटाक्ष टिप्पणी गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीका कामकारबाही बारे १५ बुँदा उल्लेख गर्दै उनले ओलीका पछिल्ला काम कुराले के देश र जनताप्रतिको जिम्मेवार चरित्र र प्रवृत्तिलाई देखाउँछन् भन्दै प्रश्न गरेका छन् । उनले आफ्नो मनोमानी ढङ्गले काम गर्दा यसले जनताप्रति गम्भीर नभएको उल्लेख गर्दै यस्तो कटाक्ष साधेका हुन् ।
फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाही गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्वपूर्ण पद र अवसर दिने काम गरेको उल्लेख गरेका छन् । रावलले पार्टीका घोषित सिद्धान्त, नीति र कार्यक्रम विपरीत काम र कुरा गरिनु हुन्न भन्ने आशयका साथ आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाही डण्डा चलाउने काम गरेको बताएका छन् ।
रावले ओलीलाई भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोन्ने दुराशयले सङ्क्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने मन्त्रिपरिषदबाट निर्णय गर्ने काम जनविरोधी भएको दाबी गरेका छन् । यस्तै, नेपालको संविधानद्वारा प्रदत्त लेख्ने, बोल्ने र सभा, सङ्गठन गर्न पाउने कुरालाई कुण्ठित गर्ने मनसायले कानून ल्याउने तर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शिष्टता विपरीतका खुला गतिविधिप्रति आँखा चिम्लिने गरेको रावलको भनाइ छ ।
रावलले पार्टीका जनसङ्गठन, भ्रातृ सङ्गठन तथा विभिन्न स्तरका कमिटीहरूमा चुन्ने र चुनिन पाउने अधिकारको सम्मान गर्नुको साटो आफ्ना अन्धभक्तहरूलाई नेतृत्वमा ल्याउन केन्द्रबाट दबाब दिने काम ओलीबाट हुने गरेको आरोप लगाएका छन् । देशमा अहिले जतिपनि खराब परिस्थिति उत्पन्न भइ रहेको छ , यो सबै ओलीको देन रहेकोले सत्ताको आढले मुलुकलाई विकासभन्दा विनासको पाटोमा धकेलेको आरोप उनले लगाएका छन् ।