काठमाडौं । राष्ट्रिय सभाले प्रस्तुत गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको समीक्षा अवधिमा गत वर्षको तुलनामा यस वर्ष निर्यात घट्दा आयात बढेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
प्रस्तुत तथ्याङ्क अनुसार गत पुस महिनासम्मको समीक्षा अवधिमा कूल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ८५ प्रतिशतले बृद्धि भएर ९८ अर्ब ७९ करोड कायम भएको उल्लेख गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात सात दशमलव २५ प्रतिशतले कमी आएको थियो । २०८१ पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तको २० खर्ब ४१ अर्व १० करोडको तुलनामा १३ दशमलव ५५ ले बृद्धि भएर २३ खर्व १६ अर्ब ८४ करोड कायम भएको छ । २०८१ पुस मसान्तमा कायम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २४ दशमलव ३५ रहेको छ ।समीक्षा अवधिमा कुल वस्तु आयात सात दशमलव १५ प्रतिशतले बृद्धि भएर आठ खर्ब २२ अर्ब ३७ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात तीन दशमलव १५ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा चार दशमलव ४५ प्रतिशतले वृद्धि भएर सात खर्ब २३ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई दशमलव ६५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिसम्म विप्रेषण आप्रवाह नेपाली मुद्रामा चार दशमलव १५ प्रतिशतले बृद्धि भएर सात खर्ब ६३ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो ।