काठमाडौं । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका-३ बोझिनीमा चार सय केभी लप्सीफेदी सबस्टेसन निर्माणले गति लिएको छ ।
तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधिमा आधारित चार सय/ दुई सय २०, दुई सय २०/ एक सय ३२ र एक सय ३२/ ११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीनमा रहेको छ । सबस्टेसन निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
स्थानीय समस्याको बाबजुद करिब एक वर्षअघि सुरु भएको सबस्टेसन निर्माण हाल पूर्ण रूपमा भइरहेको छ । करिब एक सय ७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो ।