काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
बिहीबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरेका हुन् । प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुने जनाइएको छ ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधि केही दिनअघि प्राप्त गरेको थियो । पहिलो चरणमा एक वर्षका लागि तीन प्रकारका औषधि प्राप्त भएका थिए । डब्लुएचओ र ‘सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’को संयुक्त सहकार्यमा २०८० साल चैत १४ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र डब्लुएचओबीच बाल क्यान्सर उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सम्झौता भएको थियो ।
नेपालमा हरेक वर्ष करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर देखिने गरेको छ। सेवामा सीमित पहुँच र स्रोत अभावका कारण तीमध्ये करिब एक–तिहाइले मात्र उपचार पाउने गरेका छन् । नेपालमा क्यान्सरपीडित बालबालिकाको बाँच्ने सम्भावना दर केवल ३० प्रतिशत छ । विकसित मुलुकमा यो दर ८० प्रतिशत भन्दा बढी रहेको छ ।