काठमाडौं । अमेरिकाले नेपाललाई दिँदै आएको वित्तीय संघीयता र जैविक विविधता संरक्षणको लागि अनुदान रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले माइक्रो ब्लगिङ्ग वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)ले आइतबार गरेको पोष्ट मार्फत् सो कुराको जानकारी दिएको छ । ट्रम्पले सरकारी खर्च कटौती गर्न नयाँ विभाग खडा गरेका थिए । यो विभागले नेपाल, भारत, बंगलादेश लगायतका कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लागाएको अवस्था छ ।
नेपाललाई वित्तीय संघीयताको नाममा अमेरिकाले दुई करोड डलर र जैविक विविधता संरक्षण प्रयासका लागि दिँदै आएको १ करोड ९० लाख डलर बन्द गरेको सो पोष्टमा उल्लेख गरेको छ । पोष्टमा डजले यो कटौतीलाई अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको हिस्सा भनेको छ ।
ट्रम्पले घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका मालिक मस्कलाई यस विभागको प्रमुख बनाएका छन् । मस्कले यतिबेला विश्वभरि हुने हरेक अमेरिकी खर्च गम्भीरतापूर्वक जाँचिरहेका छन् । सरकारको नीति अनुसार यसबारे निर्णय लिइरहेको उल्लेख गरिएको छ । त्यसै गरी अमेरिकाले भारतलाई दिँदै आएको १ अर्ब ८२ करोड भारु रुपैँया पनि काटिएको छ ।