काठमाडौं । सरकारी अस्पतालमा लापरवाही बढेसँगै बर्दिया अस्पतालमा जनशक्ति अभाव भएको छ । जनशक्तिकै अभावले गर्दा कतिपय बिरामीहरुले सेवा लिनबाट वञ्चित भएका छन् । सरकारले पनि सरकारको काम कहिले जाला घाम भने जस्तै भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्दिया अस्पतालमा जनशक्ति खटाउन नसकेको आरोप लागिरहेको छ । दैनिक सेवा लिन आउनेहरु डक्टर र नर्सहरुको अभाव कै कारण बिरामीहरु सेवा लिनबाट वञ्चित हुन पुगेका छन् ।
बर्दिया अस्पतालमा आर्थिक वर्ष ०८०÷८१ मा एक लाख भन्दा बढी सर्वसाधरणले उपचार गराएका थिए । जनशक्तिकै अभावले गर्दा ओपिडी, इमर्जेन्सी, सर्जिकल ओपिडी÷इन्डोसकोपी सेवा, प्रसूति तथा स्त्रीरोग, फिजियोथेरापीलगायतको सेवा लिनबाट सर्वसाधरण मानिसहरु वञ्चित हुन पुगेका छन् । बर्दिया अस्पतालले सेवा दिन नसकेपछि कतिपय बिरामीहरु अन्य स्वास्थ्य चौकी तिर धाउन थालेका छन् । बिरामीहरु स्वास्थ्य चौकीमा पुगेर उपचार गराउँदा महँगो शुल्क तिर्न बाध्य भएका छन् । बर्दिया अस्पतालमा कोभिड कै कारण देखाएर स्थानीय सहयोग र अस्पतालको लगानीमा २५ शड्ढयाको एचडियू र आइसियू सेवा सञ्चालन गर्न ल्याइएको थियो ।
जनशक्ति कै अभावले गर्दा स्वास्थ्य सामाग्रीहरु बिग्रिदै गएको अवस्था छ । अस्पतालमा ५९ जनाको दरबन्दी भएको ठाउँमा २९ जनाले मात्रै सेवा गरिरहेका छन् । अन्य केही ब्यक्तिहरु विभिन्न बाहाना गरेर बेतलबी र घर बीदामा बसिरहेका छन् । हाल सो अस्पतालमा २० जना कर्मचारी कार्यरत रहेका छन् । त्यसले गर्दापनि बर्दिया अस्पतालमा सेवा ग्राहीहरुले मार खेपिरहेका छन् । स्वास्थ्य मन्त्रालयले पनि छिटोछरितो गरेर कर्मचारी पठाउनु पर्नेमा त्यो गर्न सकेको छैन । २४ घण्ट सेवा दिनुपर्ने अस्पतालले कर्मचारीको अभाव देखाएर सेवा दिन नसकेको अवस्था रहेको छ ।