काठमाडौं । नेपालका राजनीतिक नेताहरु पार्टी फुटाउने र दल परिवर्तन गर्ने रोगले ग्रसित हुँदै गएका छन् । नेतासँगै दल निकट विभिन्न पेशा, व्यवसायमा आबद्ध संघ, संगठनका नेता, कार्यकर्ताहरुमा पनि पार्टी परिवर्तन गर्ने र संस्था फेरिरहने रोगले सताएको छ । एमालेबाट फुटेर एकीकृत समाजवादी पार्टी गठन गरेका नेताहरुमा पनि त्यो रोग सल्किएको छ । पार्टीसँगै भ्रातृ तथा सुभेच्छुक संस्थाहरुमा पनि पार्टी निकट संगठन परिवर्तन गर्ने र पदको बार्गेनिङ गर्ने धन्दा फास्टाएको छ ।
त्यसको गतिलो उदाहरण लिन सकिन्छ एकीकृत समाजवादी प्रेस संगठनका निवर्तमान अध्यक्ष विश्वमणि सुवेदी र महासचिव राम कुमार एलनलाई । सुवेदी र एलनले एकीकृत समाजवादी प्रेस संगठन त्यागेर एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेपछि एकीकृत प्रेस संगठन नेतृत्व विहीन भएको थियो ।
नेतृत्ववीहिन भएपछि एकीकृत समाजवादी प्रेस संगठनले यही फागुन ४ गते राष्ट्रिय भेला आयोजना गरेको थियो । सो राष्ट्रिय भेलाले अध्यक्षमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, महासचिवमा रोहित दाहाल र कोषाध्यक्षमा भरत पोखरेललाई चयन गरेको छ भने अन्य पदाधिकारी र सदस्यहरुमा पहिलाकै टिमलाई यथावत राखिएको छ । शम्भु श्रेष्ठको अध्यक्षतामा बनेको कार्यसमितिले १५ महिनापछि तेस्रो महाधिवेशन गर्नुपर्ने भेलाले निर्णय गरेको छ । केन्द्रीय नेतृत्व चयनसँगै प्रेदेश कार्यसमिति पनि गठन गर्ने भेलाले बताएको छ । त्यसैगरी समाजवादी प्रेस संगठनले वरिष्ठ पत्रकार गोपाल थपलिया र पत्रकार हेम पाठकलाई सम्मान गरेको थियो ।
त्यस्तै समाजवादी प्रेस संगठनबाट नेपाल पत्रकार महासंघमा निर्वाचन पदाधिकारी र सदस्यहरुलाई पनि सम्मान गरेको थियो । प्रेस संगठनको सो भेलामा पार्टी अध्यक्ष मावध कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, प्रचार विभाग प्रमुख प्रकाश ज्वाला नेता राजेन्द्र पाण्डे, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका पूर्वसचिव गोविन्द प्रसाद चौलागाईँलगायतका पत्रकाहरुको उपस्थिति रहेको थियो । सम्पन्न दोस्रो राष्ट्रिय भेलाले देशैभरि संगठन चुस्तदुरुस्त ढंगले संगठन विस्तार गर्ने जनाएको छ ।