काठमाडौं । भूमि तथा सहकारी गरिबी मन्त्रालयले गत वर्षको माघबाट छुट जग्गा दर्ता खुलाएको थियो । एक वर्ष पुगि सक्दापनि छुट जग्गा दर्ता भैरहेको छ । देशैभरी भूमाफिया र बिचौलियाहरुको मिलेमतोमा सरकारीदेखि व्यक्तिको जग्गा समेत दर्ता भैरहेको छ । छुट जग्गा दर्ता गर्नको लागि भूमाफिया र मालपोतका कर्मचारी बिचौलियाहरु हाबीहुँदै गइरहेका छन् ।
उपत्यका भित्र रहेको छुट जग्गा दर्ता गर्नको लागि कतिपय भूमाफियाहरु जग्गा धनीसँग साट्गाँठ गरिरहेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्दा लाखौँको खेलोमेलो हुने गरेको छ । खास गरी काठमाडौं उपत्यका भित्र सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर दर्ता गर्नेहरुको होडबाजी चलेको छ । साँखु, मनमैजु, किर्तिपुर, साँघा, भक्तपुर, लेले, चापागाउँ, थैव, ललितपुर, चाल्ना खेल, भैँसीपाटी, अत्त्तरखेल, चौभार र स्वयम्भू, ठूलोभर्याङ् थानकोट एरिया आसपासमा रहेका सरकारी जग्गाहरु व्यक्तिको नाममा दर्ता गर्ने गरेको स्रोतको भनाइ रहेको छ । छुट जग्गा दर्तासँगै नामसारी र हालसाबिक, डोरपास जस्ता कामहरु बिचौँलिया मार्फत् लाखौँ लिँदै काम गर्ने गरेका छन् । त्यतातिर भूमि तथा सहकारी गरिबी निवारण मन्त्रालयको ध्यान पुग्न सकेको छैन ।
पहिला साँखु, मनमैजु, भक्तपुर जस्ता मालपोत र नापी कार्यालय प्रमुख भएर जान रुचाउने गरेका थिएनन् । सरकारले छुट जग्गा दर्ता गराउन खुलाएपछि अहिले त्यस्ता मालपोत र नापी कार्यालयमा कार्यालय प्रमुख भएर जानको लागि करोडौँ खर्च गरेर जान लागि पर्ने गर्दछन् । त्यस्तै कलंकी मालपोत र नापीका कर्मचारी र बिचौलियाले छुट जग्गा दर्ता गर्ने नाममा करोडौँ उठाइ राखेका छन् । त्यसैगरी ललितपुर मालपोत र नापी कार्यालयमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएर करोडौँ उठाएको स्रोतको भनाइ छ ।
ललितपुर मालपोत प्रमुखमा जिवन सेढाईं रहेका छन् । सेढाईं कै योजना अनुसार ललितपुर मालपोतमा सरकारी जग्गादेखि गैरसरकारी जग्गा भूमाफियाले दर्ता गराएर अर्बौं उठाइरहेको बताइन्छ । त्यसैगरी उता भक्तपुर मालपोतमा पहिला कार्यालय प्रमुख भएर जान नचाहने व्यक्तिहरु अहिले कार्यालय प्रमुख भएर जानको लागि न्वारन देखिको बल निकालेर जाने गर्छन् । भक्तपुर मालपोतमा प्रमुख भएर जानको लागि करोडौँ रुपैयाँ चलखेल हुने गरेको छ । हाल भक्तपुर मालपोत कार्यालय प्रमुख रहेका छन् कुमार आचार्य । आचार्य दुधले नुहाएका ब्यक्ति होइनन् ।
उनी भैरहवा मालपोतमा बस्दा सार्वजनिक जग्गा व्यक्तिको नाममा गराएर करोडौँ उठाएको आरोप आचार्य माथि लाग्दै आएको छ । अहिले उनै आचार्य भक्तपुरमा बसेर भक्तपुर जिल्लाको सरकारी जग्गा दर्ता गराएर करोडौँ उठाइ रहेको भक्तपुरका एक जग्गा धनीले तामाकोशी सन्देशलाई बताएका छन् । भक्तपुर मालपोत प्रमुख कुमार आचार्य र पुरुषोत्तम दाहालको चाँदी कटाइको आरोप छ । दिाहाल विगत आठ, दस वर्षदेखि भक्तपुर मालपोतमा रजाईं गर्दै आएको बताइन्छ ।
दाहाललाई सरकारी जग्गा र व्यक्तिको जग्गाको राम्रो ज्ञान भएका व्यक्ति हुन् । भक्तपुर जिल्ला भित्र मोही र तल्लसिंह बीचको झगडाले जग्गा सम्बन्धीको मुद्दा बढी पर्ने भएपछि भक्तपुरको मालपोतको मुद्दाफाँटमा बस्ने कर्मचारीहरुले तल्लसिंह र मोहीको झगडा मिलाउने नाममा रातारात अरबपति बन्ने गरेका छन् । त्यस्ता मालपोत र नापीमा न त अख्तियारले अनुगमन गर्छ न त राष्ट्रिय सर्तकता केन्द्रले नै । अख्तियारले पनि मालपोत र नापीबाट असुली धन्दा चलाइरहेको पाइन्छ । किनकी कतिपय मालपोत र नापीका कर्मचारीहरुलाई अख्तियारमा भ्रष्टाचारको मुद्दा परेतापनि चोख्याउने काम गर्दै आएको छ ।