माटोको शक्ति नै ज्यूउने आधार

पत्र-पत्रिका समाचार

सरिता सिकर्मी

माटोको शक्तिलाई हामीले अहिले नजरअन्दाज गरिरहेका छौं । हामी सबैलाई थाहा छ,कि माटो बाट नै हाम्रो जिवन चक्र पुरा हुन्छ । हाम्रो जिउने आधार नै माटो भएकोले माटो बिना हामीले परिकल्पना नै गर्न सकिराखेका छैनौं । हामीले माटोलाई यति खराब बनाइ सकेका छौं,कि हाम्रो गल्तिको कारणले, वातावरणलाई नकारात्मक असर परिरहेको छ ।

माटोको परिभाषा विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले आ–आफ्नै शैलीमा व्याख्या गरिरहेका छन् । इन्जिनियरको परिभाषामा माटो भन्नाले आवश्यक निमार्ण सामग्रीको श्रोत तथा पूर्वाधारहरुको आधार भन्ने गरेका छन् ।
विज्ञानले पृथ्वीमा रहेका साना ठूला चट्टानहरु विघटन भएर (खिइएर वा टुक्राएर)बनेका साना मसिना कर्णहरुमा जैविक पदार्थहरु मिसिएपछि बन्ने समिश्रणलाई माटोको परिभाषा दिएका छन् । कृषिमा अन्नबाली, फलफूल, तरकारी जस्ता उपभोग्य खाद्य पदार्थ उब्जाउने ठाउँलाई माटोको परिभाषा दिएको छ ।

वैज्ञानिकहरुका अनुसार सतहको एक इन्च माटो बन्न करिब चार सय वर्ष लाग्छ । माटोले बोटबिरुवाहरुलाई अड्याएर राख्नुका साथै बिरुवालाई आवश्यक पर्ने पोषक तत्व पनि प्रदान गर्दछ । माटोले नै बिरुवालाई आवश्यक पर्ने १६ पोषक तत्व मध्ये १३ पोषक तत्वको प्रमुख श्रोत रहेको छ । त्यसैले माटोलाई बाली बिरुवाको खाद्यतत्वहरुको भण्डारण तथा उत्पादनको आधार पनि मान्न सकिन्छ । माटो खनिज पदार्थ, प्राङ्गारिक पदार्थ, हावा र पानीको समिश्रण हो । जसमा औसत रुपमा खनिज पदार्थ ४५ प्रतिशत, प्राङगारिक पदार्थ ५ प्रतिशत, हावा २५ प्रतिशत र पानी २५ प्रतिशत रहेको पाइन्छ । यिनै पदार्थहरुको मात्रा र अनुपातले नै माटोको भौतिक रासायनिक र जैविक गुणहरुको निर्धारण गर्दछ । लामो समय लागेर माटो बन्ने प्रक्रिया भएकोले बनेको माटो खेर गयो वा बिग्रियो भने फेरि त्यस्तै माटो बन्न वर्षों वर्ष लाग्ने भएकोले माटोलाई जोगाउन जरुरी देखिन्छ । कृषियोग्य जमिनबाट राम्रो फसल (अन्नपात, तरकारी आदि) उत्पादन हुन माटोमा तीन प्रतिशत जैविक पदार्थ हुनुपर्दछ । परन्तु, यो मात्रा विश्वको माटोमा एकदम कम रहेको पाइन्छ । उदाहरणका लागि दक्षिण यूरोपका ७४ प्रतिशत कृषि योग्य जमिनमा दुई प्रतिशत भन्दा कम जैविक पदार्थ रहेको अनुमान गरिएको छ ।

अहिले विश्वको जनसंख्या ७ दशमलव ९ अर्ब जुन छ, अबको ३० वर्षपछि ९ दशमलव ७ अर्ब पुग्दैछ । अहिले पनि विश्वका करिब १० प्रतिशत जनसंख्या भोकमरीमा परिरहेका छन् । संसारको एक अर्बजति मानिस राती भोकै सुत्छन् । मानिसको लागि उपलब्ध खाद्य पदार्थको ९५ प्रतिशत भन्दा बढी खाद्यपदार्थ जमिनबाट मात्र उत्पादन हुने गरेको पाइन्छ । यी तथ्यहरूलाई मध्यनजर राख्दा आगामी दशकमा खाद्य वस्तुहरूको उत्पादन ६० देखि७० प्रतिशतले वृद्धि गर्दै लैजानुपर्ने देखिन्छ ।
विश्वमा माटोको अवस्था:
संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनको अनुसार अहिले नै विश्वको खेतीयोग्य जमिनको आधा भाग भन्दा बढी (५२ प्रतिशत) को माटो अन्नबाली राम्रोसँग उब्जाउन नसक्ने किसिमले गुणस्तर हिन भैसकेको छ । यति मात्र नभएर प्रति वर्ष औसतमा एक दशमलव दुई करोड हेक्टर भन्दापनि बढी बिग्रिरहेको पाइन्छ । विश्व खाद्य तथा कृषि संगठनका अनुसार यही अनुपातमा माटो बिग्रदै जान दिने हो भने आगामी ६० वर्षमा विश्वमा खेती गर्न लायक जमीन बाँकी नै रहने छैन ।

नेपालको माटोको अवस्था:
नेपालमा माटोको अवस्था हेर्ने हो भने माटोको उर्बराशक्ति ह्रास हुँदै गइरहेको देखिन्छ । उर्बराशक्ति ह्रास हुनुको मुख्य कारणहरु वर्षायामको पानीले नेपालबाट वर्षेनी २४ करोड घनमिटर माटो बगेर खेर गइरहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । साथै बाली सघनतामा बृद्धि हुँदै जानु, बढी उन्नत जातको खेती, प्राङगारिक मलको प्रयोगमा कमी, रसायनिक मलमा बढ्दो निर्भरता र असन्तुलित मलखादको प्रयोग, भुक्षय आदिलाई लिन सकिन्छ । माटोको उर्बराशक्तिको साथै बिरुवाको लागि आवश्यक खाद्यतत्व प्रदान गर्न प्राङ्गारिक पदार्थको विशेष भूमिका रहेको छ । तसर्थ माटोमा नाईट्रोजन तत्वको प्रयोग रासायनिक मल (नाइट्रोजनयुक्त मल, युरिया, एमोनियम सल्फेट) र प्राङ्गारिक मलबाट गर्न सकिन्छ । कोसेबालीहरुले सुक्ष्यम जीवाणुको सहयोगमा हावाबाट नाइट्रोजन स्थिरिकरण गर्दछ । अत: कोसेबालीको प्रयोग बाली चक्रमा अनिवार्य गर्दै जानु पर्दछ । कोसेबालीहरुलाई मिश्रीत बाली, घुसुवा बाली तथा हरियो मलबालीको रुपमा प्रयोग गर्न सकिन्छ । माटोको दिगो व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुलाई बढुवा दिई अगाडि लैजानुपर्ने आजको आवश्यकता देखिएको छ ।
मुलुकको खेती योग्य जमीनमा न्यूनतम जैविक कार्बन दुई प्रतिशत हुनुपर्दछ । जैविक कार्बनको मात्रा माटोमा यो भन्दा कम भयो भने उक्त जमीनमा कृषि उत्पादन हुनपर्ने जति हुँदैन । तर, अन्नको भण्डार भनिने तराईको जमीनको ९५ प्रतिशत भन्दा बढी क्षेत्रफलमा न्यूनतम दुई प्रतिशत पनि जैविक कार्बन छैन । त्यसैगरी यदि माटोमा जैविक पदार्थको मात्रा तीन प्रतिशतभन्दा बढी छ,भने त्यसलाई खेतीपातीको लागि राम्रो माटो मानिन्छ । यस्तो माटो नेपालको हकमा जम्मा केवल चार प्रतिशतको हाराहारीमा रहेको छ । यदि यो मात्रा एक प्रतिशत भन्दा पनि कम भएमा त्यो जमीन कृषि कार्यको लागि उपयुक्त हुँदैन । राष्ट्रिय रूपमा हेर्दा नेपालको ६० प्रतिशत भन्दापनि बढि जमीन यस प्रकारको अनुपयुक्त वर्गमा पर्दछ । नेपालको १२ प्रतिशत जमीन त खेतीको लागि कामै नलाग्ने अवस्थामा गुज्रिरहेको छ ।

एकातिर माटो हाम्रो जीवनको आधार मानिन्छ । अर्कोतिर गुणस्तरीय माटो बिना जीवन सम्भव छैन भन्ने देखाउँदछ । अर्कोतिर, वैज्ञानिक तथ्यहरूले विश्वको सबैतिरको माटो धेरै मात्रामा गुणस्तरहीन बनिसकेको र भोलिका दिनमा अझँै कामै नलाग्ने बन्दै जाने संकेत देखिएको छ । यस्तो महत्वर्पूण माटोलाई कसरी जोगाउने वा यसको गुणस्तर नाश हुनबाट कसरी बचाउने भन्नेतिर आजैदेखि हामी सबैको ध्यान जान जरुरी देखिन्छ । साथै, बिग्रिसकेको माटोलाई कसरी पुनर्जीवित गर्न सकिन्छ भन्नेतर्फ पनि हाम्रो उत्तिकै ध्यान जान जरुरी रहेको छ ।
खेती गरिने माटोको पि.एच.मान ४देखि ९ सम्म हुन्छ । यदि कुनै माटोको पि.एच.घट्दैछ भने त्यस माटोलाई अम्लीय माटो भनिन्छ । पि.एच.मान ६.५–७.५सम्म भएको माटोलाई तटस्थ माटो भनिन्छ । ६.५ भन्दा तलको माटोलाई अम्लिय भनिन्छ । ७.५ भन्दा माथिको माटोलाई क्षरीय माटो भनिन्छ । नेपालको माटोमा अम्ल वर्षोंदेखि क्रमश: बढ्दै गएको माटो परीक्षण प्रयोगशालाका प्राविधिकहरुले बताएका छन् । झापा, मोरङ तथा सुनसरी अन्न उत्पादनका लागि मुख्य जिल्ला मानिन्छन् । तर यी जिल्लाका अधिकांश खेतीयोग्य जमिन अम्लीय बन्दै गएको छ । पूर्वका ६० देखि ६५ प्रतिशत माटो अम्लीय छ । विभिन्न बालीका लागि आफ्नै पी.एच.मान हुन्छ र त्यो कम हुँदा बाली विरुवाको बृद्धि त्यति राम्रो हुँदैन । माटो परीक्षण गर्दा माटोमा भएको उर्बरा शक्ति पत्ता लगाउन सकिनुको साथै माटोको किसीम अनुसार बाली बिरुवाको लागि के–कति खाद्यतत्व प्रयोग गर्ने भन्ने थाहा पाउन माटोको परीक्षण गर्ने गरिन्छ । माटोको उर्बराशक्ति पत्ता लगाइ, प्राप्त सिफारिसको कार्यान्वयन राम्रो सँग गर्न सके मात्र माटो परीक्षण सफल भएको मान्न सकिन्छ ।

माटो परिक्षण गर्नुको कारक तत्वहरु–:
माटोको पि.एच (माटोको अम्लियपना, क्षारियपना)
माटोको खाद्य तत्वको अवस्था (नाईट्रोजन,फस्फोरस,पोटास, प्रांगारिक पदार्थ)
माटोको सुष्म तत्वहरु (जिङ्क, कपर, आइरन,बोरन)
अम्लियपना बढीहुँदा फलाम,तामा जस्ता र म्याग्निज,बोरन आदि बढी घुलनशिल हुँदा बिरुवालाई विषाक्त पनि हुन जान्छ । क्षारिय माटोमा पनि

फस्फोरस, :Micronutrient तत्वको उपलब्धता कम हुन्छ भने फलाम, तामा, जस्ता र म्याग्निज तत्व, बोरम तत्वहरु अघुलनशिल हुँदा विरुवालाई प्राप्त हुँदैन । पि.एच. भनेको माटोमा रहेको हाइड्रोजन आयनको मात्रा नाप्ने माप हो । माटोको प्रतिक्रिया अर्थात् माटो कतिको अम्लिय वा क्षारीय वा तटस्थ के छ भनेर पत्ता लगाउन पि.एच. मापन गरी थाहा पाउन सकिन्छ ।
नोट : ( कृषि चुन बाली लगाउनुभन्दा दुई÷तीन हप्ता पहिले नै माटोमा प्रशस्त चिस्यानको प्रबन्ध गरी मिलाउनुपर्दछ ।
रासायनिक मल र कृषि चुनको प्रयोग एकैसाथ नगरी फरक पारी मात्र प्रयोग गर्नुपर्दछ ।
खेतबारीमा प्रयोग गरिने गोठमल÷कम्पोष्ठ मललाई खेतबारीमा लामो समय घाम पानीमा नराखी मल माटोमा मिलाउनुपर्छ वा तुरुन्तै खनजोत गर्न सम्भव नभएमा थुप्रो बनाई स्याउलाले छोपी घामपानीबाट जोगाई पोषकतत्व नष्ट हुनबाट बचाउनुपर्छ । )

माटोको रङ्ग:

माटोको रङ्गहरुले माटो बन्ने प्रारम्भिक खनिज पदार्थ (पैतृक पदार्थहरुको रङ, प्राङ्गारिक पदार्थको मात्रा, जलवायु, पानीको निकासको अवस्था र माटोमा हुने लवणहरु आदिमा भर पर्दछ । हामीले विभिन्न रङको माटो देखेका छौं जस्तै ः रातो माटो, कालो माटो, पहेलो, खैरो, सेतो आदि । माटोको रंगको आधारमा हामीले माटोको पैतृक पदार्थको निर्धारण गर्न, माटोको चिस्यान गर्न साथै माटोको जैविक, नुन र carbonate सामाग्रिहरुको गुणात्मक नाप पनि मापन गर्न सकिन्छ । यसबाट माटोको गुणहरु जस्तै मलिलोपना अनुमान र माटोको वर्गिकरण पनि गरिन्छ । माटोको रङ्ग चार्टको विकास सन् १९०५मा भएको हो । माटोको रङ्ग मुन्सेल चार्टबाट हेरिन्छ ।

CEC माटोको उर्बराशक्ति, खाद्यतत्व अवधारण गर्ने क्षमता र भूमिगत पानी धनआयनबाट प्रदूशित हुनबाट बचाउने क्षमता नाप हो । धनआयनलाई सेन्टीमोल (Centimole) प्रति किलो माटोमा नापिन्छ । चिम्टे माटो र प्राङ्गारिक पदार्थ बढी भएको माटोमा CEC बढी हुन्छ ।
माटोको रङ्गको संकेत :
क्र.स.              माटोको रङ्ग                                    माटोको रङ्गमा पाइने तत्व
१.         कालो रङ्गको माटो प्रङ्गारिक पदार्थ,          म्याग्निज तत्व बढि पाइन्छ ।
२.        खैरो रङ्गको माटो                                  फलाम र अर्गानिक पदार्थ बढि पाइन्छ ।
३.      हरियो,रातो,पहेंलो रङ्गको माटो                 फलाम तत्व बढि पाइन्छ ।
४.       सेतो रङ्ग भएको माटो                               सोडियम, क्याल्सीयम तत्व बढि पाइन्छ ।

दुई मिलि मिटरभन्दा ठूला आकारका टुक्राहरुलाई ग्राभेल (ग्रेग्रटो वा ढुङ्गा भनिन्छ ।)
नेपालमा पाइने माटोको प्रकारहरु:

क्र.स माटोका प्रकार विशेषता
१. पाँगो माटो यो माटो नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको हुन्छ । तराई र बेंसीमा यस्तो माटो पाइन्छ । धान,उखु, सुर्ती,सनपाट र तेलहन फसलहरु यो माटोमा सप्रिन्छन् ।
२. बलौटे माटो नदीले बगाएर थुपारेको बालुवा, पत्थर, कंकड आदि मिलेर बनेको माटो हो । नेपालको भावर, भित्री मधेस र चुरे पर्वतमा यस्तो माटो पाइन्छ । पानीको मात्रा कम हुनाले साल,सिसौं, खयर जस्ता कहा रुखहरु यो माटोमा सप्रन्छन् ।
३. रातो फुस्रो माटो महाभारत पर्वतबाट टुक्रिईं खसेका चट्टानहरुमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल, चिया, आलु, मकै, कोदो आदि फसलहरु यो माटोमा सप्रन्छन् ।
४. तलैया माटो  वर्षौंदेखि विभिन्न किसिमका झारपात र हिलो कुहिएर बनेको माटो जुन ताल सुकेर बनेको हुन्छ । काठमाडौं उपत्यका, पोखरा उत्यकामा यस्तो माटो पाइन्छ । अन्नबालिका लागि यो माटो उपयुक्त मानिन्छ ।
५.  हिमानी माटो हिमनदीले बगाईं ल्याएर थुपारेको बालुवा, कंकड र पत्थर मिश्रीत माटो जुन हिमालको फेदिमा पाइन्छ भने त्यसलाई हिमानी माटो भनिन्छ ।

बलौटे माटोमा ७० प्रतिशत भाग बालुवा हुन्छ ।
दोमट माटोमा चिम्टेका कण २० प्रतिशत, पाँगोका कण ४० प्रतिशत र बालुवा ४० प्रतिशत पाइन्छ ।
चिम्टाइलो माटोमा १० देखि २० प्रतिशत बालुवा र बाँकी चिम्टे, पाँगोका कर्ण हुन्छन् ।

निष्कर्ष: भविष्यमा अकल्पनीय अवस्था आउन नदिन आजैदेखि हरेक व्यक्ति माटो जोगाऔं अभियानमा लाग्नुपर्ने देखिन्छ । साथै, विश्वका सबै मुलुकहरूका नीति निर्माताहरूले यसलाई आत्मसात् गर्दै, माटो संरक्षण सम्बन्धी नीति बनाउन र ती नीतिलाई कार्यान्वयनमा ल्याउनु आजको आवश्यकता बन्न पुगेको देखिन्छ ।
माटो संरक्षणको युगिन दायित्व निभाउन एकपटक हामी सबै जागौं र लागौं पनि । र हामी सबैले आज नै एउटा प्रण पनि गरौःं माटो जोगाऔं, एउटा युगिन दायित्व पूरा गरौं ।

स्रोत: कृषि तथा पशुपन्छी डायरी
NARC ज्ञानकुञ्ज किताब तथा विभिन्न अनलाइनबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *