काठमाडौं । नेपालका राजनीतिक पार्टीहरु नेतैपिच्छेको गुटउपगुट र चाकडीचाप्लुसीको दलदलमा फसिरहेका छन् । त्योसँगै छिमेकी मुलुकलगायत अन्य विदेशीको इसारमा नाच्नेहरु पनि त्यत्तिकै छन् । यस्तो रोग अन्य दलको तुलनामा नेपाली कांग्रेसभित्र बढी झागिँदै गएको छ । कांग्रेसभित्र संस्थापन र इतरपक्षबीच एमालेसँगको सत्तासाझेदारदेखि आगामी १५ औं महाधिवेशनको विषयलाई लिएर मतभेद भइरहेको छ । एमाले र कांग्रेसको सरकार बनेदेखि नै इतरपक्षका नेता डा. शेखर कोइरालाले विरोध गर्दै आएका छन् । आगामी १५ औं महाधिवेशनमा सभापतिको पद कसले हत्याउने भन्ने होडवाजी कांग्रेसभित्र चलिरहेको छ ।
इतरपक्ष नेता डा. शेखर कोइराला आफ्ना गुटका नेता, कार्यकर्ताको साथमा देश दौडाहामा मोहिएका छन् । डा. शेखर देश दौडाहामा निस्किएपछि महामन्त्री गगन थापा पनि आफ्नो छुट्टै गुट बनाएर आगामी महाधिवेशनमा सभापति लड्ने तयारी गरिराखेका छन् । उता संस्थापनपक्षका नेताहरुले तपाईंको उत्तराधिकारी को हो ? भनेर प्रश्न गरिरहँदा सभापति शेरबहादुर देउवा मौन बसेका छन् ।
तर, देशमा प्रजातन्त्रहुँदै गणतन्त्र ल्याउन लडभिड गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसीलगायतका ठूला नेताहरु गुमनाम जस्तै भएका छन् । त्यसैगरी कांग्रेसभित्र राजसंस्थासहितको हिन्दू धर्म कायम गराउनुपर्छ भनेर वकालत गर्ने नेताहरु पनि त्यत्तिकै छन् । उता भारतीय कांग्रेस आईको वकाल गर्ने कृष्ण प्रसाद सिटौला र विमलेन्द्र निधि छन् भने महामन्त्री विश्व प्रकाश शर्मा भाजपाको समर्थक भएका छन् ।
अर्का नेता अर्जुन नरसिंह केसी किष्चियन धर्मको वकालत गरिरहेका छन् । कांग्रेसभित्र नेतैपिच्छे गुटबन्दी र विदेशीको एजेन्ट बन्नेहरुको लर्को छ । हुन त सभापति शेरबहादुर देउवालाई अमेरिकाको एजेन्ट भन्ने आरोप लाग्ने गर्दछ । इतरपक्षका नेता डा. शेखरलाई भारतको पक्षमा उभिएको आरोप छ । यदि डा. शेखर भारतको सहयोगी भएको भए यतिबेला देशको प्रधानमन्त्री हुने थिए । तर, भारतले शेखर पक्षलाई पत्याएको पाइँदैन । डा. शेखरको प्यानलबाट महामन्त्री बनेका गगन थापा सभापति देउवाको शरणमा पुगेका छन् ।
गगन थापा देउवातिर लागेपछि अर्का महामन्त्री शर्मा भाजपाको समर्थक बन्न पुगेका छन् । सभापति देउवाका दाहिने हात मानिएका नेता पूर्णबहादुर खड्का यतिबेला गुमनाम जस्तै बनेका छन् भने अन्य नेताहरु सत्ताको चास्नीमा रमाइरहेका छन् । यसलाइ हेर्दा कांग्रेस यतिबेला विचार, सिद्धान्त र निष्ठाभन्दा गुटैगुटको पार्टी बन्न पुगेको छ । कांग्रेसभित्र संगठनभन्दा गुट झांगिएको कारण आगामी २०८२ पार्टीको १५ औं महाधिवेशन पनि समयमा नहुने देखिन्छ । ०८२ महाधिवेशन नगरेको खण्डमा कांग्रेसमा झन् गुटगत राजनीति चर्केर जाने देखिन्छ । देशकै ठूलो लोकतान्त्रिक पार्टी कांग्रेस आन्तरिक झगडामा रुमलिएको कारण नेपालमा विदेश चलखेल बढिरहेको छ । विदेशी चलखेल बढेका कारण सधैं अस्थिर सरकार बन्दै गएको छ ।
एमाले र कांग्रेस मिलेर बहुमतको सरकार बनाएपछि कांग्रेसभित्र संस्थापन र इमारपक्षबीच झगडा गराएर विदेशीहरुले लेखिरहेका छन् । नेपालमा स्थिर सरकार बनेपछि विदेशी चलखेल कम हुने देखेर कांग्रेसभित्र खेलिरहेको राजनीतिक विश्लेषकहरुको आँकलन छ । ०८२ मा महाधिवेशन नभएको खण्डमा ०८४ को आमनिर्वाचनमा कांग्रेस एकढिक्का भएर जाने देखिँदैन । त्यसले फेरि देशमा अस्थिरता निम्त्याउने खतरा त्यत्तिकै छ ।