काठमाडौं । देशमा आर्थिक चलायमान, दीगो विकास र सुशासन लागु गर्ने भनेर एमाले र कांग्रेसले सरकार बनाएका थिए । सरकार बनेको आठ महिना पुग्न लाग्दा पनि देशमा सुशासन र आर्थिक चलायमान हुन सकेको छैन । कांग्रेस र एमाले जस्ता ठूला दलको स्थिर सरकार बन्दा पनि देश ‘ग्रे’ लिस्टमा पर्न गएको छ ।
अर्थतन्त्रदेखि विकास निर्माणका कामहरु ठप्प भएका छन् । सरकारको काम भने विभिन्न आयोजना, योजना र कार्यालयहरुमा महानिर्देशक परिवर्तन गर्ने, सचिवहरु परिवर्तन गर्ने एवं केही सह–सचिव र उपसचिवलई कामबिहीन बनाएर सिंहदरबारको बरन्डामा थन्क्याउने मात्रै भएको छ । अर्थतन्त्र चलायमान बनाउन राजश्व उठाउन सकेको छैन । विदेशी दाताहरुले दिने गरेको सहयोग पनि विभिन्न बहानामा रोकिँदै आएको छ ।
त्यसले गर्दा विकास निर्माणका कामहरु अलपत्र भइराखेका छन् । हालै मात्र अर्थमन्त्राले अधिकांश मन्त्रालय, विभाग र कार्यालयहरुमा खर्च कटौती गर्न परिपत्र जारी गरेको छ । अर्थमन्त्रालयबाट खर्च कटौतीको परिपत्र जारी भएपछि ती मन्त्रालय, विभाग र कार्यालयहरुमा कामै ठप्प हुन थालेको छ । आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट पनि कुन आकार र कुन क्षेत्रलाई प्राथमिकता दिएर बनाउने भन्ने एकिन भएको छैन । सरकारले आ.ब.२०८२-०८३ को बजेट बनाउन पनि आनकानी गरिरहेको छ । निजी क्षेत्रलाई प्रोत्साहन दिइएको भनिए तापनि निर्यातभन्दा आयात बढि हुने गरेको छ ।
त्यसले गर्दा राजश्व उठ्न कमी भइरहेको छ । निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुले कर छली गरेर सरकारलाई कमजोर बनाउने काम गरिराखेका छन् । सरकार परिवर्तनसँगै अर्थमन्त्रालयका विभिन्न शाखामा कार्यरत उच्च तहका कर्मचारीहरु फेरबदल गर्ने कारणले पनि राजश्व उठाउन समस्या परिराखेको छ । अर्थमन्त्रालयले देशलाई आवश्यकता पर्ने बजेट तर्जुमा गर्न विभिन्न विज्ञहरुसँग सुझाव लिने गरेको पाँदैन । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन खोजे तापनि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाकै कारण अर्थतन्त्र दिनप्रतिदिन धरासाही बन्दै गएको स्रोतको भनाइ छ ।
खतिवडा तत्कालीन अर्थमन्त्री हुँदा पनि अर्थतन्त्र चलायमान बनाउन सकेका थिएनन् । बरु कोभिड महामारीले देश थलिएको बेलामा विश्वदेखि नेपालमा समेत आर्थिक मन्दी छाएको हल्ला चलाएर उम्किने बाटो गरेका थिए । खतिवडा तत्कालीन अवस्थामा नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा पनि बैंक वित्तीय संस्था र शेयर बजार धरासाही बनाउने काम गरेका थिए । उनै खतिवडा अहिले प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार बनेका छन् । खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भएर पनि देशको अर्थतन्त्रको बारेमा ध्यान दिन सकेका छैनन् ।