काठमाडौं । गैरकानुनी रूपमा प्रवेश गरेका नौ नेपालीलाई बुधबार स्वदेश फर्काइएको छ ।
५० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर अमेरिका पुगेका उनीहरू मानव तस्करको फन्दामा १४ वटासम्म मुलुक पार गर्दै अमेरिका पुगेका थिए ।
अमेरिकी चार्टर्ड विमान मार्फत् एक महिला र ७ जना पुरुषलाई बुधबार काठाडौं उतारिँदा अर्की एक नेपाली महिला भने कतार एयरवेजको नियमित उडानबाट आइपुगेको अध्यागमन कार्यालय जनाएको हो । अमेरिका पुगेको एक वर्ष नबित्दै उनिहरु आधिकारिक कागजात नभएका कारण निष्कासनमा परेका थिए ।
अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका नौ जना नेपालीहरु मध्ये दाङका तीन जना, रुकुम पश्चिम र रुकुम पूर्वका दुई–दुई जना, रोल्पा र डोटीका एक–एक जना रहेका छन् ।
उनिहरु पाँच देखि १० महिनाअघि मात्रै अमेरिका पुगेको नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले जनाएको छ । सोधपुछका क्रममा काठमाडौंबाट दुबई हुँदै युरोप पुगेका उनीहरु ब्राजिल पुगेपछि बिचौलियाले भनेअनुसार उनीहरुले पासपोर्ट फ्याँकिदिएका थिए । त्यहाँबाट कोही विमानमा र कोही सडक मार्गहुँदै मेक्सिको पुगेका थिए । ब्राजिलबाट शरणार्थी बनेर उनीहरु अमेरिका प्रबेश गरेको देखिएको प्रहरीको भनाइ रहेको छ । जंगल, खोला, समुद्रहुँदै महिनौंलजामो यात्रा गरेर उनिहरु अमेरिका पुगेको पुष्टि भएको छ । फर्किनेहरु अधिकांश २० देखि ३५ वर्ष उमेर समूहका रहेका छन् ।
अमेरिकाबाट फर्काइएकाहरुसँग ब्युरोका अनुसन्धान अधिकृतहरुले त्यहाँ पठाउने समूहबारे सोधपुछ गर्दा उनीहरुले बताउन अस्वीकार गरेको प्रहरीले जनाएको छ । विस्तृत रुपमा विवरण नआएपनि नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरुको सूची बनाएर अनुसन्धान गरिरहेको छ । काठमाडौंबाट अवैध तरिकाले मेकिसको हुँदै अमेरिका पठाउन कम्तीमा ५० जना गिरोह सक्रिय रहेको र उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै, अमेरिकाका ६ देशबाट डिपोर्ट र प्रवेश निषेध गरेका ११ जना नेपाली बुधबार नै काठमाडौं आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार जापानले दुई जना र दक्षिण कोरिया, श्रीलंका र क्यानडाबाट तीन जना नेपालीलाई डिपोर्ट गरेको हो । ब्राजिल पुगेका तीन जना र अजरबैजान पुगेका तीन जना गरी ६ जना ‘इन्ट्री रिफ्युज’ (प्रवेश निषेध)का कारण स्वदेश फर्काइएका छन् । नौ जनालाई नै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ र परामर्शपछि आफन्तको जिम्मा लगाएको छ । सोधपुछका क्रममा उनीहरूले आफूखुसी गएकाले उजुरी गर्नुपर्ने कारण नभएको बताएका थिए ।
अमेरिकामा डोनाल्ड ट्रम्प ४७ औं राष्ट्रपतिमा निर्वाचित भएयता ३५ जना नेपाली नागरिक निष्कासित भइसकेका छन् । तीमध्ये पाँच जना महिला रहेका छन् । अमेरिकाले यसअघि २ पुस २०७६ मा पनि अवैध रुपमा गएका पाँच जना नेपाली युवालाई चार्टर विमानमार्फत् फर्काइदिएको थियो । विदेशको मोहमा अधिकांश नेपाली ज्यानको बाजी थापि बाहिरीने गर्दछन् । देशमा रोजगारी, शिक्षाको अवस्था कमजोरहुँदा प्राय युवा समूह बिचौलियाको लयलयमा विदेशीन बाध्य रहेका छन् ।