अर्गेलीबाट बन्ने कागजलाई नेपाली कागज अर्थात् हाते कागज भनिन्छ ।
अर्गेलीलार्ई ठाउँ अनुसार बोलीचालीको भाषामा (अर्यौली, अरिली, अर्कले पात, तीन हाँगे, लोक्ता, खोलेपात, जोखडे, रातो बरुवा) आदि नामले चिनिन्छन् । सदाबहार बुट्यानको रुपमा पाइने अर्गेलीको वैज्ञानिक नाम Edgeworthia gardneri हो ।
अर्गेली नेपालको माथिल्लो पहाडमा हुने भएकाले कोशी,पहाडी क्षेत्रमा रहेका चार जिल्लाहरु (धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा) को हावापानी, भूगोल तथा पर्यावरणीय अवस्था उपयुक्त मानिन्छ । उत्पादनको विगत तथा वर्तमान अवस्थाको हिसाबले पनि यस क्षेत्रका जिल्लाहरु उपयुक्त रहेका छन् ।
अर्गेलीको खेती नेपालमा कात्तिकदेखि फागुनसम्मको समयलाई मानिन्छ । नेपाली हाते कागज बनाउने परम्परा चीनबाट १४ औँ शताब्दीमा भित्रिएको ‘प्लान्टस एन्ड पिपुल अफ नेपाल’को (पृः५४)मा उल्लेख गरिएको छ । त्यो बेलादेखि नै नेपालमा परम्परागत रुपमा कागज बनाउने चलन रहेको छ । परम्परागत शैलीमा अर्गेली खेती गर्ने र परम्परागत तरिकाबाटै बोक्राबाट कागज बनाउने गरेका किसानहरु जापानी प्रविधि प्रयोग गरेर कागज तयार गर्न थालेपछि झन् उत्साहित भएका छन् भने परम्परागत रुपमा हाते कागज बनाउँदा यस अवधिमा उत्पादन हुने अर्गेली बाफमा पकाउँदा राम्रो हुने र रङ्ग पनि सेतो हुन्छ । यस बाहेकका अवधिमा पाइने अर्गेलीमा पानीको मात्रा अधिक हुने र रङ्ग पनि हरियो हुँदा गुणस्तर राम्रो मानिदैन ।
अर्गेलीको बिरुवाबाट बन्ने कच्चा पदार्थलाई गुणस्तर अनुसार ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ मा वर्गीकरण गरिन्छ । बिक्री र वितरण गर्नका लागि तीन श्रेणीमा विभाजन गरिएकोले ‘क’ श्रेणीको प्रति किलो पाँच सय ७५ रुपैयाँ ‘ख’ श्रेणीको प्रति किलो दुई सय र ‘ग’ श्रेणीको प्रति किलो एक सय रुपैयाँमा बिक्री हुने गरेको छ । यसरी उच्च गुणस्तरलाई धेरै मूल्य र कम गुणस्तरलाई कम मूल्यमा निर्धारण गरेर बिक्री गरिन्छ ।
तथ्याङ्कका अनुसार कोशी पहाडी क्षेत्रका चार वटै जिल्लाहरु हाते कागज उत्पादन हुने वा गर्न सकिने जिल्लाका रुपमा बढी चिनिन्छ । यद्यपी धनकुटा जिल्लामा नेपाली हाते कागज उत्पादन गर्ने कुनै पनि उद्योगहरु नभएको तथ्याङ्क छ । बाँकी तीन जिल्लामा उत्पादन तथा सङ्कलन भएको लोक्ता तथा अर्गेलीबाट यस क्षेत्रमा के–कति कागज उत्पादन हुन्छन् र ती उत्पादित कागजले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा के कति योगदान पु¥याइरहेका छन् भन्ने कुराको अहिलेसम्म यकिन तथ्याङ्क छैन र उक्त कुराको गहिरो विश्लेषण पनि हुन सकेको छैन । नेपाली हाते कागज उत्पादन गर्ने उद्योगहरुले विं.सं. २०५१ देखि अहिलेसम्म उत्पादन गरेका हाते कागजको अवस्था, चुनौती तथा सम्भावनाहरुका बारेमा व्याख्या तथा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
नेपाली कागज बनाउन प्रयोग हुने कच्चा पदार्थको उपलब्धता हुन सक्ने भौगोलिक अवस्थाको आधारमा हेर्दा नेपालका ७७ जिल्लामध्ये १५सय देखि ३५ सय मिटरको उचाईमा पाइने अर्गेली प्रायजसो उत्तरी मोहडाको सेपिलो तथा पानी नजम्ने ठाउँमा पाइन्छ । झाडीदार सदावहार वनस्पति अर्गेली तीन मिटरसम्म अग्लो हुन्छ । जमीनको अवस्था अनुसार यो स–साना खण्डमा घना रुपमा पाइन्छ । पानी नजम्ने, माटो, सेपिलो र ओझेल पर्ने ठाउँमा यो वनस्पति फस्टाउँछ ।
छिटो बढ्ने अर्गेलीको उचित व्यवस्थापन गरे ३० वर्षसम्म यसको आयु हुने गर्दछ । छिटो बढ्ने क्षमताका कारण यसले भूक्षय रोक्न तथा हरियाली बढाउन पनि विशेष भूमिका खेल्दछ । लेकाली बस्तीमा जंगली जनावरबाट खेतीबाली जोगाउन बारको रुपमा किसानले अर्गेली रोप्ने गर्छन् । एकपटक अर्गेली लगाएपछि तीन बर्षमा काट्न मिल्ने भएकोले लगानी धेरै लाग्दैन । एकपटक लगाएको अर्गेलीले वर्षैंसम्म उत्पादन दिन्छ । अर्गेलीको रोपण र प्रशोधनका लागि आधुनिक प्रविधि हस्तानतरण हुनुपर्ने किसानको माग छ ।
अर्गेली एक ‘ट्र¥याडिसनल प्लान्टको रुपमा पनि लिने भएकाले युरोप, अमेरिकातिर ल्याब्रोटरीमा टेस्ट भइरहेको छ । नेपालबाट जापान र युरोपतिर धेरै निर्यात भइरहेको छ । भू–क्षेत्रहरु अन्तर्गत ४० वटाभन्दा बढी जिल्लाहरु पर्दछन् । यसको अर्थ नेपालको भू–बनौटलाई हेर्दा सुदूरपूर्वको इलाम, पाँचथर र ताप्लेजुङदेखि लिएर सुदूरपश्चिमको बैतडी, दार्चुला र हुम्लासम्म फैलिएर रहेका सबै हिमाली जिल्लाहरु र धेरै जसो पहाडी जिल्लाहरुमा रहेका वन क्षेत्रहरुमा अर्गेली पाइने सम्भावना देखिन्छ । कच्चा पदार्थको उपलब्धता हुनु भनेको कुुनै न कुनै रुपमा नेपाली हाते कागज उत्पादन गर्ने सम्भावना हुनु हो ।
नेपाली कागज विदेशी कागज भन्दा बलियो र गुणस्तरीय हुनाले विदेशमा राम्रै माग हुने गरेको छ । नेपाली हाते कागज संसारमै उत्कृष्ट कागजमा गनिन्छ । जापानको कागज पहिलो नम्बरमा आउँछ भने नेपालको कागज दोस्रो वा तेस्रो नम्बरमा आउँछ । नेपाली कागज अरुभन्दा विषेश भएकाले पनि विदेशबाट माग आउने गरेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले अर्गेली निर्यातलाई निरन्तरता दिँदै हरेक वर्ष निर्यात बढाइरहेको छ ।
‘जापान इन्टरनेसनलको अपरेसन एजेन्सी’(जाइका)ले नेपालमा अर्गेली खेतीको सम्भावनाबारे अध्ययन गर्दा नेपालमा यसको प्रचुर सम्भावना रहेको र देशको अर्थतन्त्रका लागि बलियो खम्बाको रुपमा प्रस्फुटन गर्न सकिने विवरण निकालेको थियो । हस्तकलाका सामग्रीका रुपमा र त्यहाँको जापानी येन छाप्न तथा पासपोर्ट बनाउने बारे अध्ययन समेत गरेको थियो । हस्तकलाका सामग्रीका रुपमा र त्यहाँको जापानी येन छाप्न तथा पासपोर्ट निर्माणमा समेत नेपाली कागजको प्रयोग हुँदै आएको छ ।
जापानमा नेपालको अर्गेलीसँग मिल्दो जुल्दो वनस्पतिलाई मित्सुमाता भनिन्छ । मित्सुमाताको विकल्पको रुपमा जापानी नोट बनाउन अर्गेलीको प्रयोग हुँदै आएको छ । अर्गेलीको रेशादार बोक्राबाट जापानी नोट, पासपोर्ट खाम, हुलाक टिकट, कागज र कपडा समेत बनाइने गरिन्छ । जापान निर्यात हुने अर्गेलीको माग उच्च रहेपनि माग बमोजिमको कच्च पदार्थ निर्यात हुन सकि रहेको छैन । अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषको आकर्षण भने बढ्दै गएको छ ।