भन्सारमै बिग्रन थाल्यो तेह्र सय मेट्रिक टन मल

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा एक हजार तीन सय मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ । भन्सार कार्यालयको खुला गोदाममा थन्किएको ५० किलोका दुई हजार छ सय बोरा मल काम नलाग्ने अवस्थामा पुगेको छ ।

कृषि सामग्री केन्द्र र आयातकर्ता बिच मूल्य यकिनमा विवाद हुँदा सो रासायनिक मल भन्सार कार्यालयमै रोकिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । गत वर्ष पनि करिब डेढ वर्षसम्म त्यत्ति नै परिणामको मल थन्किएको थियो । आयातकर्ता र कृषि सामग्री केन्द्रबिच आपसी समझदारीमा मल राजधानी पठाइएको थियो तर यस पटक भने लामो समयसम्म केन्द्र र आयातकर्ताबिच विवाद नटुङ्गिएपछि मल थन्किएको छ ।

आयातकर्ता र केन्द्रबिच मलको मूल्यको विषयलाई लिएर उच्च अदालतमा मुद्दा परेको थियो । अदालतले दुवैलाई मध्यमार्गी बाटो अपनाएर मलको विषय टुङ्गाउन आदेश दिएको छ । अदालतको आदेशबमोजिम केन्द्र र आयातकर्ताले समन्वयात्मक बाटोबाट समस्या समाधान गरेर मल राजधानी पठाउनुपर्ने छ तर अहिलेसम्म उनीहरूबीच समन्वयसमेत हुन सकेको छैन । त्यसकारण मल भन्सारकै गोदाम थन्किएको छ भने यत्ता कृषकहरू मल अभावमा बालीमा प्रयोग गर्न पाएका छैनन् ।

केन्द्रले सिनोम्याक्सरसिल्क मार्केट र अर्को एक फर्मलाई मल आयातका लागि ठेक्का दिएको थियो । तातोपानी भन्सारले उक्त मल जफत गरेर राजधानी पठाउन पनि सकेको छैन । जाँचपास गर्नेबाहेक भन्सार कार्यालयलाई जफत गर्ने अधिकार नदिएको भन्सार कार्यालयले जनाएको छ । सिनोम्याक्सरसिल्क मार्केट र अर्को एक फर्मको जोइनभेन्चरमा चीनबाट सो मल आयात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *