काठमाडौं । थकाली समुदायले नयाँ वर्षका रुपमा तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन् ।
यस पर्वमा आफ्नो थातथलो म्यादी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइँ सरेर काठमाडौं आएका थकाली समुदायले तीन दिनसम्म घरका कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गरी मनाउने गर्दछन् । त्यसैगरी छोरी–ज्वाइँ, भान्जी र अरट्ठ आफन्तहरूलाई बोलाएर मीठा–मीठा परिकार खुवाउने र तिर खेल्ने चलन यो पर्वमा चलेको रहेको छ ।
थकाली समुदायले यसदिन घरमै बनाएको छ्याङ (लोकल मदिरा) समेत खाने प्रचलन छ । थकाली समुदायले पहिले पहिले फागु पूर्णिमाको रङ्गहरू लगाउँदैन थिए । तर आजभोलि त्यो चलन पनि सुरू भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ र तोरन्लक पर्व थकाली समुदायको एक महान पर्व हो ।
हिउँद यामपछि वसन्त ऋतुको आगमनसँगै यो पर्व सुरू हुने गर्दछ । देशविदेशमा छरिएका थकाली युवायुवती पर्व मान्न यसबेला जन्मथलो फर्कने गर्दछन् । तोरन्ल पर्वको मुख्य विशेषता पितृ पूजा हो । थकाली समुदायका मानिसले आफ्ना दिवंगत पितृलाई खुसी राख्न चोखो पानी चढाउने र मीठा मीठा खानेकुराका परिकार बनाएर चढाउने गर्छन् ।
पूर्णिमाको अघिल्लो दिनदेखि पूर्णिमाको भोलिपल्ट ३ दिनसम्म मध्य रातमा उठेर पितृको नाममा प्रसाद चढाउने चलन रहेको छ ।यसरी पितृको नाममा खानेकुरा चढाउँदा पितृ खुसी भएर उद्दार हुने विश्वास गरिन्छ ।