काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ९२ वर्षको उमेरमा निधन भएको छ ।
भारतको आसामका स्थायी बासिन्दा उनको निधन गएराति गुवाहाटीमा निधन भएको हो। क्षेत्री नेपाली भाषी साहित्यकार भएता पनि उनी भारतीय नागरिक हुन् । उनी भारतको आसाम राज्य अन्तरगत गुवाहटीमा जन्मेका र त्यहीँ रहेर नेपाली साहित्यको साधनामा लागेका सर्जक हुन् ।
१६ वर्षको उमेरमा प्रकाशित पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्य जगतमा उदाएका उनको पहिलो उपन्यास ‘बसाइँ’ वि.सं. २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो जुन उपन्यास उनको लेखकीय जीवनकै कोसेढुंगा सावित भयो ।
पछि साझा प्रकाशनबाट प्रकाशन हुन थालेपछि यो कृति सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल भयो । पाठ्यक्रममा समेत रहेको यो उपन्यासको अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद भएको छ भने यस उपन्यासको चलचित्र समेत बनेको छ । त्यसपछि पनि उनका ‘अतृप्ति’, ‘ब्रम्हपुत्रका छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यासहरू प्रकाशित भए ।
उपन्यासका अतिरिक्त आख्यानको क्षेत्रमा उनका ‘तीन दशक बीस अभिव्यक्ति’, ‘लीलबहादुरका कथाहरू’ तथा ‘छरिएको बिस्कुन’ कथा कृतिहरू समेत प्रकाशित छन् ।
उनका ‘दोबाटो’, ‘माग’ तथा ‘शुरुको शुरु’ नाट्य कृतिहरू समेत प्रकाशित छन् । ‘असममा नेपाली भाषाको साहो–गाह्रो’, ‘पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य र पत्रकारिताको इतिवृत’, ‘झ्याउरे पार्टीमा लाग्दा’, ‘पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन’, ‘सिमलको भुवा’, ‘अतीतका ऐनामा विविध झाँकीहरू’ लगायत गैरआख्यान कृतिहरू समेत प्रकाशित छन् । उनको हालै सबै उपन्यास एकसाथ ‘समग्र उपन्यास’का रुपमा प्रकाशित भएको थियो ।