होली पर्वको विशेषता के ?

राजनीति समाचार

होली पर्व अथवा फागु पूर्णिमा हिन्दूहरुले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइने चाड मध्ये प्रमुख चाडको रुपमा यसलाई मानिन्छ । खासगरी यो चाड नेपाल तथा भारतमा महत्वकांक्षीका साथ मनाइने गरिन्छ । होली पर्वलाई बसन्त ऋतुको खुसीयालीमा रङगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ । होली रङगहरुको चाड भएकोले मानिसहरुले एक अर्कामाथि विभिन्न प्रकारका रङगहरु हालेर एक अर्कालाई आपसी सद्भाव, माया प्रकट गर्दछन् ।

एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङगहरु छ्यापी होली मनाउने प्रचलन रहेको छ । सबै रंगहरुले आफ्नो छुट्टै विशेषता बोकेका हुन्छन् ।
रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ । कुनै पनि रङको प्रयोग गर्नूपूर्व त्यसको फाइदा एवं महत्त्व प्रतीक बुझ्न आवश्यक रहेको छ ।

रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ ।
हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन् ।
पहेंलो यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन् । पहेलो रङग भगवान् श्रीकृष्णको प्रिय रङग पनि मानिन्छ ।

नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील बर्णका भगवान बिष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । निलो रङगले मानवता र धैर्यतालाई दर्साउँछ । होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ । यो रंग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ । यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन् । तुरुन्तै रिसाउने खालका हुन्छन् ।

सेतो रंगलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन् । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ । ‘विष्णुपुराण’ मा उल्लेख गरिए अनुसार,त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दौत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफै आगोमा भस्म भएको दिनका रूपमा ‘होली–पर्व’मनाइने गरिन्छ । दौत्यराज हिरण्यकशिपलेु आफ्नै पुत्र प्रह्लाद भगवान् भक्त भएकामा क्रोधी बनेका थिए ।

भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान् भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि होलीकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै रङ्गीन उत्सव होली मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरु र ग्रन्थहरुमा पनि यस पर्वको उल्लेख छ ।

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेष भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरूप मानिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरेपनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ भन्ने विश्वास पाइन्छ ।

वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसैले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।

फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरु मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरु भएको मानिन्छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा साइत अनुुसार विधिपूर्वक रङ्गीविरङ्गी कपडाहरुको ध्वजापताकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ । चीर ठड्याएसँगै राजधानी काठमाडौं लगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु हुन्छ । यसरी सुरु भएको होली पर्व पूर्णिमाका दिन चिरलाई ढालेर जलाएपछि सम्पन्न हुन्छ ।

नेपालमा होली पर्व विधिवत् रुपमा दुई दिन मनाउने गरिन्छ । फागुपूर्णिमाका दिन पहाडमा होली खेलेर बेलुकी ‘होलिका दहन’ गरी पर्वको समापन गरिन्छ भने तराईमा फागुन पूर्णिमाका दिन बेलुकी ‘होलीका दहन’ पछि भोलिपल्ट बिहान रङ्ग–अबिर खेलेर होली पर्व मनाइन्छ । आ–आफ्नो रीतिरिवाज अनुसार पर्व मनाइने भएपनि पर्वको मुख्य उद्देश्य समान छ । यस पर्वमा मीठो परिकार बनाउने र खाने गरिन्छ । जे होस् आधुनिकताको विकाससँगै पछिल्लो समय सबै जातजाती, धर्म, विभिन्न समुदायका मानिसहरु एउटै आँगनमा उत्साह अनि सद्भावले तालमा तालमीलाई झुमिरहेका हुन्छन् । साँच्चै नै होली पर्वले सबैलाई एउटै धागोमा बाधेको हुन्छ । यो दिन के बालक, के वृद्वा, के युवायुवती सबै साथमा होलीको मज्जा लिन्छन् ।

‘असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश’ पस्कने पर्व होली रहेको छ । आपसी वैमनस्यतालाई बिर्सेर एक–अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख–शान्तिको कामना गर्नु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो । असत्य माथि सत्यको विजय भएको कारण भनि मानिदै आएको यो पर्वमा हिजो आज थुप्रै बिकृति देखिएका छन् । सामान्यतय रङ्ग दलेर आपसमा खुशी मनाउने गरेता पनि फोहोर पानी बाटोमा हिँड्ने मान्छेलाई छयाप्ने, जस्ता बिकृतिले यो चाडको महत्व नै हराउने त होइन भन्ने शङ्का उपशङका उठेका पनि छन् ।

आफ्नो क्षणिक खुशीका लागि कसैको इच्छा विपरित पानी र रङ्ग फ्याक्नु राम्रो हो र ! के हामीले खेल्ने रङ्गहरु हानिरहित छन् त ? बजारमा रहेका रङ्गहरु रसानयुक्त हुन्छन् । यस्ता रङ्गहरु शरीरमा दल्नाले विभिन्न खालका स्वास्थ्य समस्याहरु हुने विज्ञहरु बताउँछन् । भारतमा केही वर्ष अघि गरिएको अनुसन्धानमा होलीमा प्रयोग हुने रङ्गमा कपडा रङ्ग्याउन प्रयोग हुने रसायन नै प्रयोग गरिएको कुरा पत्ता लागेको थियो । नेपालमा आउने रङ्ग पनि त्यस्तै किसिमका हुन् ।

होलीका नाममा विकृति र विसङगती भित्रिएको छ जसले यसको मौलिकता हराउँदै गएको हो कि भन्ने चिन्ता हुन थालेको छ । होलीमा विकृती फैल्याउने, पानी छयाप्ने लगायतका कार्यहरुलाई प्रहरीले पक्राउ गर्ने सार्वजनिक मुद्दा लगाउने गर्नले पछिल्ला समयमा केही कमि भने आएको छ । धार्मिक आस्था र विश्वासमा मनाइने पर्वहरुमा समयको माग अनुसार सही रुपमा परिमार्जन हुनुपर्नेमा विकृति भित्र्याएका छौं हामीले । वर्षौदेखि होलीमा पनि यस्तै हुँदै आएको अनुभव सबैले बटुलेकै छौ । फलतः रङ्ग र सद्भावको यो पर्वमा डर र त्रासका दृश्यहरु देखिने गर्छन् ।

धर्म र संस्कृति जोगाउने नाममा विकृतिहरुलाई सचेत नागरिकहरुले प्रश्रय दिनुहुँदैन । हुलहुज्जत वा जर्बजस्ती गर्नु संस्कृति हुन सक्दैन । यसको आफ्नो मौलिकपनलाई जोगाई भोलीको पुस्तालाई हस्तान्तरण गर्नु वर्तमान पुस्ताको जिम्मेवारी र कर्तव्य हो । होलीमा सडकमा हो–हल्ला गर्दै हिँड्नु भन्दा आफ्ना नातेदार, नजिकका साथीभाइ भेला भएर खानपिन गर्दै, रमाइलो गर्दै, नाचगान गर्दै, एक–अर्कालाई रङ्ग दल्दै प्रेम र सद्भाव बाँडेर खेलौ, मनाऔँ । विकृतिलाई प्रश्रय नदिउ । होलीमा टाढा भएका नजिक हुन तर नजिक भएका नबिच्कियुन् । रमाइलो पर्वमा अरुलाई पीडा दिने काम नगरांै । आपसी सद्भाव र रङको उत्सवको पर्व फागु अर्थात् होलीको सबैलाई रङ्गीन शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *