काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा गणतन्त्रका पक्षधर समूहले बिच सडकमा मञ्च तयार गरेका छन् ।
पुरानो बसपार्क हुँदै भद्रकाली तर्फको सडकमा मञ्च निर्माण गरिएको कारण ट्राफिक प्रहरीले टुँडिखेल घुम्ने सवारी साधनलाई डाइभर्ट गरिरहेको छ । काठमाडौंको प्रदर्शनी मार्गमा गणतन्त्रका पक्षधर र तीनकुनेमा आज राजतन्त्र पक्षधरले प्रदर्शन गर्दैछन् । गणतन्त्रको पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निकै चासोपूर्वक हेरिएको छ ।
नियमित रूपमा टुँडिखेल घुम्ने बसहरूलाई ट्राफिक प्रहरीले त्रिपुरेश्वरबाट डाइभर्ट गरेको छ । गणतन्त्र पक्षधर प्रदर्शनकारीहरू जम्मा भएसँगै माइतीघर, कुपण्डोल र सोह्रखुट्टे क्षेत्रमा पनि सवारी डाइभर्सन गर्ने ट्राफिक प्रहरीको योजना छ ।
प्रदर्शन स्थलतर्फ जान खोज्ने सवारी साधनलाई जय नेपाल हल र बागबजारबाट डाइभर्ट गरिएको छ । न्यु प्लाजाबाट पद्मोदयतर्फ जाने सवारीलाई रोक लगाइएको छ । रत्नपार्क हुँदै टुँडिखेल घुम्ने सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइएको छ ।

