काठमाडौं । निकै विवादित बन्दै आएको घरेलु मदिराको उत्पादन र बिक्रीलाई गण्डकी प्रदेश सरकारले कानुनी मान्यता दिने तयारी गरेको छ । जुन अहिले नेपालमा कानुनको अभावमा अवैध छ ।
अहिले नेपालमा घरेलु मदिरा उत्पादन गर्ने र बिक्री गर्ने व्यक्तिहरूलाई प्रहरीले नियन्त्रण गरेर नष्ट गर्दै आएको छ, जबकि विदेशी मदिरा भने खुल्ला रूपमा बिक्री र उपभोग हुन्छ । निकै विवादित बनेको यो घरेलु मदिरालाई अन्नत प्रदेश सरकारले कानुनको रूप दिन लागेको हो । प्रदेश सरकारले बिहीबार ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ ।
हाल नेपालमा घरेलु मदिरा उत्पादन गर्न पाइँदैन । विदेशी यस्ता मदिरा भने नेपालमा खुलमखुला बिक्री भइरहेको छ । सोही कुरालाई मध्यनगर गरेर प्रदेश सरकारले मदिरा र मदिराजन्य पदार्थको आयात प्रतिस्थापन गर्दै स्थानीय जनता र समग्र प्रदेशको आर्थिक वृद्धिका लागि विधेयक दर्ता गरेको प्रदेश सरकारले जनाएको छ ।
त्यसका लागि भने प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने छ । प्रदेश सरकारले ल्याएको विधेयकमा व्यक्ति, फर्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन संकलन प्रशोधन प्याकेजिङ, लेबलिङ तथा बिक्री वितरण गर्न पाउँदैन । । यद्यपि धर्म, संस्कृत वा परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजत पत्र लिनु नपर्ने व्यवस्था विधेयकमा छ ।

