काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
मतदानका साँझ ५ बजेसम्म हुनेछ । तर, आन्तरिक तयारीमा ढिलाइ हुँदा मतदान तोकियको समयभन्दा ढेर घण्टा ढिला भएको छ । ६ वर्ष पछि हुन लागेको एमयुको स्ववियु निर्वाचमा विद्यार्थीहरु उत्साहका साथ मतदानमा सहभागी भएका छन् । यसअघि पटक–पटक निर्वाचन मिति तय हुँदा पनि उच्च अदालतमा रिट दायर भएपछि स्ववियु निर्वाचन स्थगित हुँदै आएको थियो ।
चार हजार तीन सय ८३ मतदाता रहेको विश्वविद्यालयमा १९ सदस्यीय कार्यसमिति चयन हुनेछ । निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ । स्ववियु अध्यक्षमा यसपटक सात भ्रातृ सङ्गठन र एक स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् ।

