काठमाडौं । सांसद दीपक बोहराको शव श्रद्वाञ्जलीका लागि सेनाको हेलिकप्टर मार्फत् भैरहवा लगिँदैछ ।
श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने जनाइएको छ । भोलि (बुधबार) बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा दिनभरि श्रद्धाञ्जलीका लागि राखिने र भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने नजिकको श्रोतले जनाएको हो।
राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । ७६ वर्षीय बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन् । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा पोस्ट कोभिडको समस्याले गर्दा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो ।
पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।

