काठमाडौं । नेपाल एकपछि अर्को गर्दै लागुपदार्थको ट्रन्जिट मात्रै बनेको छैन प्रयोगकर्ताको संख्या पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
देशमा कालो बजारी, भ्रष्टाचार, बेरोजगारीको दरसँगै लागु औषधमा फस्ने १६ देखि २८ वर्ष उमेर समूह रहेका युवा जमात पनि ठूलो मात्रामा रहेको लागु औषध नियन्त्रण कार्यालायले जनाएको छ ।
कुलतमा फसेका दुव्र्यसनीहरुले ब्राउन सुगर, स्पासोमो, फेन्सी डिल, टिडिजिसी लगायतका लागु औषधहरु मात्रै प्रयोग गर्ने गरेका छैनन् । यतिबेला लागुपदार्थका नयाँ भेरिएन्ट पनि प्रयोग गर्दै आइरहेको प्रहरीले जनाएको छ । परम्परागत लागु औषधि मात्रै नभएर विश्वमा देखिएका विभिन्न प्रकारका लागु औषधका प्रकारहरुले नेपालका बजार र प्रयोगकर्ताहरुमा स्थान पाउन थालेका छन् । पछिल्लो समय काठमाडौंमा एल.एस.डी नामक लागु औषधको ठूलो बजार र प्रयोगकर्ता फेला पर्दा नेपाल प्रहरीका अधिकारीहरु आश्चर्य चकित परेका थिए ।
प्रहरीका अनुसार नेपालमा अहिलेसम्म भेटिएको कृतिम लागु औषध सबैभन्दा ठूलो परिमाणमा रहेको थियो । प्रहरीले तालिम प्राप्त कुकुर र उपकरणको प्रयोग गरेर साधारण गाँजा, चरेस जस्ता लागुपदार्थ फेला पार्दै आएको छ । एल.एस.डी चाहिँ परम्परागत विधिबाट पहिचान गर्न सकिँदैन । प्रहरीले एल.एस.डी स्टिकर दश हजार भन्दा बढी बरामद गरेको थियो । यो लागुपदार्थ निकै घातक मानिन्छ । नेपालमा यसको कुन माध्यमबाट हुन्छ भनेर प्रहरीले अझैं पत्ता लगाउन सकेको छैन । यसको प्रयोग गरेको ४८ घण्टा सम्म असरदेखिने हुनाले यसले दीर्घकालीन समस्या निमत्याउन सक्छ । यसको मुल्य अन्य लागु पदार्थ भन्दा निकै नै महङ्गो हुने गर्दछ । एउटा एल.एस.डी स्टिकरको मूल्य चार देखि आठ हजार सम्म पर्ने गरेको छ ।
नेपाल भित्रिने लागुऔषध पश्चिम मुलुकहुँदै भारतको बाटो भएर नेपाल भित्रिने गरेको छ । खुला सिमानाका कारण नेपाल भित्रिने र ती लागुऔषध बर्दघाट, सुनवल लगायतका क्षेत्रलाई मुख्य नाका बनाएर बुटवल, नारायणगढ, पोखरासम्म ओसारपोसार हुने गरेको प्रहरीको भनाइ रहेको छ ।
पक्राउ परेका युवाहरुले रमाइलो गर्ने उद्देश्यले पार्टी आयोजना गरिने क्लब, विशेषगरी एकान्त र त्यस्तो ठाउँमा रहेका होटल रिसोर्टहरुमा जाने त्यस्ता क्षेत्रमा कारोबार गर्नेहरुको माध्यमबाट विदेशीसहित लागु औषध प्रयोग गर्ने गरेको प्रहरीको सामु उनिहरुले कबुल गर्दै आइरहेका छन् । तर, नेपाल प्रहरीले लागु औषध प्रयोग गर्ने सुचना पाउने गरे पनि कारोबारमा संलग्न जालोसम्म पुग्न भने सकिराखेको छैन ।
प्रहरीको तथ्याङ्क अनुसार स्पासमो, केन्सी डिल र टिडिजिसी नेपालमा डाक्टरले सिफारिस गरेको बिरामीले मात्र खान पाउने र अन्यको हकमा प्रतिबन्धित औषधि हो । यसलाई अहिले युवा पुस्ताले लागु औषधको रुपमा प्रयोग गर्ने गरेका छन् । नेपाल अहिले रोजगारीको समस्याले युवाविहिन बन्दै गइरहेको छ । बचेका युवाहरु पनि लागु औषधको दुव्र्यसनमा नराम्रोसँग फसी रहेका छन् ।
यो संकट केबल लागु औषध नियन्त्रणको मात्र विषय नभएर सामाजिक अस्तित्वको लडाईं पनि रहेको छ । एक पुस्ता लागु औषधमा फस्दा त्यसले देशको भविषयलाई र सामाजिक संरचनालाई धरापमा पार्ने गर्दछ । यदि अहिले ठोस कदम चालिएन, कडा कानुनी कारबाही गरिएन, सीमा क्षेत्रमा कडाईं आधुनिक प्रविधीबाट निगरानी गरिएन, शिक्षा प्रणालीमा चेतनामूलक कार्यक्रम र रोजगारीका अवसरहरु सिर्जना गरिएन भने लागु औषधको दुव्र्यसनको समस्या झन् डरलाग्दो देखिने अवस्था रहेको छ ।

