दलका जनवर्गीय संगठनमा उद्योगी, व्यापारी र ठेकेदारहरु हावी

राजनीति समाचार

रामचन्द्र वस्नेत
यतिबेला नेपालका राजनीतिक दलभित्र विचार, सिद्धान्त र निष्ठावान नेता, कार्यकार्तभन्दा ठेकेदार, उद्योगी र व्यापारी हावी भएका छन् । पार्टीका शीर्ष नेताहरुले पनि त्यस्तै व्यक्तिहरुलाई छानीछानी टिकट दिने र चुनाव पनि साम दाम, दण्ड भेद प्रयोग गरेर उनीहरुले नै जित्ने परम्पराको विकास हुन थालेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, मधेशवादीलगायत सबै दलभित्र ठेकेदार, उद्योगी र व्यापारी र एनजीईओ, आईएनजीईयोकर्मीहरुलाई भित्र्याउने होडवाजी नै चलेको छ । पार्टीका शीर्ष नेताहरुले निर्वाचनमा टिकट दिँदा पनि उद्योगी, व्यापारी र ठेकेदारलाई प्राथमिकता दिन थालेपछि पार्टी संगठनमा मरिमेटेर लागेका इमानदार र त्यागी नेता÷कार्यकर्ताहरु पार्टीबाट पलायन हुन थालेका छन् ।

व्यापारी र ठकेदारहरु राजनीतिक पार्टीमा हावी हुन थालेपछि गरीव, उत्पीडित, अल्पसंख्यक तथा न्यून वर्गका नेताहरुले चुनावका बेला टिकट पनि नपाउने पाइहाले पनि चुनाव नजित्ने अवस्था सिर्जना भएको छ । राजनीतिक पार्टीमा पैसा, पावर र पहुँचवाला व्यक्ति हावी भएपछि निमुखाको आवाज झन् दबिन पुगेको छ । निमुखाको आवाज मुखरित गर्ने इमानदार नेता कार्यकर्ता दिनप्रतिदिन राजनीतिबाट पलायन हुँदै गएका छन् । किन भने पैसा, पावर र पहुँचको आधारमा अस्वस्त प्रतिस्पर्धा बढेपछि पार्टीका इमानदार र सिद्धान्तनिष्ठ नेताहरुले चुनाव जित्ने सम्भावना छैन ।

यतिबेला सबै पार्टीमा राजनीतिकभन्दा अराजनीतिक व्यक्तिहरुको हालीमुहाली भएको छ । ठेकेदार, उद्योगी, व्यापारीहरु राजनीतिक पार्टी र सत्तामा पुगेपछि देश र जनताको कामभन्दा आफ्नै व्यापार व्यवसायलाई केन्द्रमा राखेर काम गर्दछन् । त्यसले गर्दा राजनीतिक पार्टीभित्र विकृति, विसंगति र अराजकता बढ्दै गएको छ । पैसा र पहुँचको आडमा महत्वकांक्षी व्यक्तिहरु हावी हुँदा मरिमेटेर पार्टी संगठनमा लागेका त्यागी र निष्ठावान नेता÷कार्यकर्ताहरु पलायन भइराखेका छन् । उता, नेताहरुको व्यक्तिगत स्वार्थले गर्दा हरेक पार्टीभित्र गुटउपगुट झांगिँदै गएको छ ।

गुटउपगुट पनि कुनै विचार समूहको मात्र नभएर नेताको व्यक्तिगत स्वार्थमा खडा भएका छन् । त्यसले गर्दा पार्टीभित्रका भ्रातृ, मातृ, शुभेच्छुक तथा विभिन्न जनवर्गीय संघ, संगठनहरुमा अस्वस्थ प्रतिस्पर्धा हुने अथवा सर्वसम्मतको नाममा नेताले चाहेको व्यक्तिलाई जबर्जस्ती नेतृत्व चयन गर्ने प्रवृत्ति झागिँदै गएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय शासन व्यवस्थाको परिकल्पना गर्ने दलहरुले नै अलोकतान्त्रिक ढंगबाट नेतृत्व चयन गर्ने हो भने लोकतन्त्रको अर्थ के ? लोकतान्त्रिक विधिबाट स्वस्थ प्रतिस्पर्धामा नेतृत्व चयन गर्नुको सट्टा पैसा र पावरको भरमा गैरराजनीतिक व्यक्तिहरुले अवसर पाउने भएपछि वास्तविक नेता, कार्यकर्ता पार्टी संगठनबाट टाढिन थालेका छन् ।

स्वस्थ प्रतिस्पर्धा नहुँदा दलका भ्रातृ, शुभेच्छुक तथा जनवर्गीय संघसंगठनहरुमा पनि इमानदार, निष्ठान र संगठनमा काम गरेका व्यक्तिहरु अवसरबाट वञ्चित भएपछि पलायन हुन थालेका छन् । पाटीका शीर्ष नेताहरुले सिद्धान्त, आदर्श र निष्ठामा रहेर काम गरेका इमानदारपूर्वक संगठनमा काम गरेका नेता÷कार्यकर्तालाई अवसर दिनुपर्नेमा त्यो नगरी पैसावाला व्यापारी, ठेकेदारलाई टिकट दिने, पार्टीमा अवसर दिने गर्न थालेपछि राजनीतिक पार्टीहरु कमजोर बन्दै गएका छन् । कतिपय दूरदराजका जिल्ला, क्षेत्र, पालिका र वडास्तरका सर्वसाधारण जनताको सुखदुःखमा साथ लिएर संगठनमा लागेका नेता, कार्यकर्तालाई पाखा लगाएर पैसा र पावरको भरमा ठेकेदार, व्यापारी र उद्योगीलाई टिकट दिएर पठाउँदा वास्तविक कार्यकर्ता पार्टीबाट पलायन हुने गरेका छन् ।

भूगोल र क्षेत्रका नेता÷कार्यकर्तालाई पाखा लगाएर ठेकेदार र पैसावाललाई टिकट दिएर पठाउँदा पार्टीले हार व्यहोरिरहनुपरेको छ । भ्रातृ, शुभेच्छुक तथा जनवर्गीय संघसंगठनहरुमा पनि पेशागत संगठनमा लागिपरेका निष्ठावान, इमानदार र कुशल संगठकलाई पाखा लगाएर नेताले चाहेको व्यक्तिलाई नेतृत्वमा पु¥याउने प्रवृत्तिले असन्तुष्टि चुलिएको छ । खासगरी पछिल्लो समय राजनीतिक पार्टीभित्र उद्योगी, व्यापारी, ठेकेदार र एनजीओ, आईएनजीओ हावी हुँदा पार्टी संगठनमा दुःख गरेका वास्तविक नेता, कार्यकर्ता ओझेलमा परेका छन् ।

त्योसँगै राजनीति दलनिकट पत्रकारहरुका संस्था नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाललगायत छाता संगठन नेपाल पत्रकार महासंघ र पेशागत विभिन्न संघसंगठनहरुमा पनि त्यस्तै व्यक्ति हावी हुँदा वास्तविक पेशाकर्मी बाइपास भएका छन् । राजनीतिक दलको यस्तो प्रवृत्तिले गर्दा सबैतिर असन्तुष्टि छाएको छ । राजनीतिक पार्टीप्रति जनआकर्षण घटेपछि स्वतन्त्रहरुले टाउको उठाउन थालेका छन् । यतातिर दलका नेताहरुले नसोच्ने हो भने लोकतन्त्रमाथि नै प्रश्नचिन्ह खडा हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *