काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते गैरराजनीतिक पृष्ठभूमिका विवादित व्यक्ति दुर्गा प्रसाईँको कमाण्डमा भएको राजावादी र गणतन्त्रवादीेको आन्दोलनलाई हल्का रुपमा लिँदा राज्यले जनधनको ठूलो क्षति व्यहोर्नुपरेको छ । भर्खरै कार्यभार सम्हालेका नवनियुक्त आईजीपी दीपक थापाले पनि सो आन्दोलनलाई सामान्य रुपमा लिँदा असफलताको आरोप खेप्नुपरेको छ । उता प्रहरीको गुप्तचार निकाय सीआईबीको रणनीतिले पनि फेल खाएको छ । सीआईबीको असफलताले गर्दा आन्दोलनकारीले खेल्ने मौका पाए ।
आन्दोलनको कमाण्ड गरिरहेका दुर्गा प्रसाईंँले प्रहरीको कमजोरी थाहा पाएपछि आन्दोलनकारीलाई भड्काएर हिंसा र लुटपाटमा परिणत गराए । प्रसाईंले आन्दोलनकारी भड्काउने काम मात्रै गरेनन् आफू चलाएको गाडीले निधेषित क्षेत्र तोड्दै सुरक्षामा खटिएका प्रहरीलाई किच्न खोजे । दुर्गा प्रसाईंँले त्यस्तो हर्कक गरिरहँदा सुरक्षामा खटिएका प्रहरीहरु रमिते बनेका थिए । किन कि सुरक्षामा खटिएका प्रहरीलाई दुर्गा प्रसाईंँलाई पक्राउ गर्ने आदेश थिएन । एकातिर यस्तो अवस्था थियो भने अर्काेतिर एयरपोर्ट नजिक रहेको तीनकुनेजस्तो सुरक्षा सम्वेदनशील क्षेत्रमा आमसभा गर्न दिनु गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयको ठूलो कमजोरी थियो ।
तीनकुनेको सो घटनामा गृहसचिव गोकर्णमणि दुवाडी नराम्रोसँग चुकेका छन् । गणतन्त्र विरोध राजावादी र गणतन्त्र समर्थक समाजवादी मोर्चालाई एकै दिन एउटै समयमा आन्दोलदन गर्न दिनुभनेको गृहप्रशासन निकम्मा बन्नु हो । गृहप्रशासनको कमजोरीकै कारण आन्दोलनलाई हिंसात्मक बनाउनुको साथै निजीदेखि सरकार गडा, भवन, कार्यालयहरु तोडफोड र आगजनीमा परे । गृहप्रशासनको निकम्मा पनकै कारण समाचार संकलनमा रहेका पत्रकार र सर्वसाधारणले ज्यान गुमाउनुप¥यो ।
त्योसँगै कतिपय निर्दोष व्यक्तिहरु घाइते हुनुपरेको छ । आन्दोलनकारीले हिंसात्मक गतिविधि गर्न थालेपछि थप सुरक्षाको लागि प्रहरी खटाउनुपर्नेमा त्यो पनि गृहमन्त्रालयले गर्न सकेन । सिंहदरबार नजिकै रहेको तीनकुनेमा हिंसात्मक गतिविधि र आगजनी हुँदा गृहमन्त्री र गृहसचिव मुकदर्शक बन्न पुगे । उता, प्रहरीका नवनियुक्त आईजीपी दीपक थापाले पनि घटनाको संवेदनशीलतालाई ध्यान दिएर थप सुरक्षा व्यवस्था मिलाउन सकेनन् । तीनकुने घटनाले आईजीपी थापालाई पहिलो गाँसमै ढुंगा लागेको छ । त्यो घटनाबाट आईजीपी थापाले पाठ सिक्नुपर्ने देखिन्छ ।
आईजीपी थापाले आगामी दिनहरुमा प्रहरी संगठनलाई कसरी चलायमान बनाउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ । यता गृहमन्त्री लेखकले पनि प्रहरी संगठनलाई चलायमान बनाउन कुनै रणनीतिक योजना ल्याउन सकेका छैनन् । जति मीठा भाषण गरे तापनि गृहमन्त्री लेखक पुरानै ढर्रामा रमाइरहेका छन् । उता, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पनि आन्दोलन, धर्ना, जुलुस र विरोध प्रदर्श गर्न कुन ठाउँ उपयुक्त हुन्छ भन्नेतिर ध्यान दिएनन् । तीनकुने घटनामा गृहमन्त्रालयसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी तिवारी पनि नराम्रोसँग चुकेका छन् । त्यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीसँग गृहप्रशासन चलाउन सक्ने क्षमता र ज्ञान देखिएन ।
गृहसचिव दुवाडी यसअघि अन्य मन्त्रालयमा रहँदा पनि विवादित व्यक्ति हुन् । अहिले गृहसचिव बनेपछि प्रहरी संगठनलाई चलायमान बनाउन नसकेर झन् विवादमा तानिएका छन् । एयरपोर्टमा रहेको अध्यागमन कार्यालयमा सेटिङ गरेर विभिन्न अवैध धन्दादेखि मानव तस्करीको काम भइरहँदा पनि गृहसचिव दुवाडी मुकदर्शक बनेर बसिरहेका छन् । सुरक्षा कमान्डको फितलोपनले गर्दा निर्दोष सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनुको साथै अधिकांश घाइते भएका छन् । जुसुकै वादी अथवा समूहले आन्दोलन गर्दा पनि निदोर्ष सर्वसाधारण त्यसको शिकार बन्ने गरेका छन् । तीनकुने घटनामा पनि गाडी बनाउन भनेर घरबकाट हिँडेका व्यक्तिको समेत राजावादीको आन्दोलनमा परेर मृत्य भएको छ । जुनसुकै आन्दोलनमा पनि निर्दोष व्यक्तिहरु मारमा पर्ने गरेका छन् ।(तामाकोशी सन्देशबाट)