प्लाष्टिक व्यवस्थापनको सवाल र उपाय

राजनीति समाचार

नेपालमा प्लाष्टिकको प्रयोग दिन प्रतिदिन वढ्दो छ । प्लाष्टिकमुक्त हाम्रो समाज कल्पना गर्न सकिंदैन । अनि सवै प्लाष्टिक हानिकारक पनि हुँदैनन् । मापदण्ड विपरितका प्लाष्टिकको प्रयोग अत्यधिक हुने गरेको छ । नेपाल सरकारले ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोगमा प्रतिवन्द लगाएको छ । तर सो कार्यान्वयन हुन सकेको छैन । त्यसै गरी ती प्लाष्टिकको सहि व्यवस्थापन नहुँदा वातावरणमा नराम्रो अवस्था सिर्जना भएको छ । यो सवाल सम्वोधनकालागि एक व्यक्तिले र कुनै एक निकायको मात्र कोशिस गरेर हुँदैन । सवाल सम्वोधनकालागि सवै नागरिक, संघ संस्था, सरकारी संरचना र विद्यालयहरुको अठोट आवश्यक पर्दछ । हरेक नागरिकको व्यक्तिगत प्रतिवद्धताको माहौल तयार गर्न सामुहिक प्रयास आवश्यक छ ।

प्लाष्टिक प्रयोगको असर
नेपालमा प्लाष्टिक प्रयोग दिनप्रतिदिन बढ्दो क्रममा छ। उपभोक्तावादी जीवनशैली, सहजरुपमा उपलब्धता, र सस्तो मूल्यका कारण प्लाष्टिक हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । तर यसको अत्यधिक प्रयोग र अव्यवस्थित व्यवस्थापनका कारण वातावरणीय प्रदूषण, मानव स्वास्थ्यमा असर, र जैविक प्रणालीमा विनाशजस्ता गम्भीर समस्या उत्पन्न हुँदै गएका छन् ।

सहरदेखि गाउँसम्म प्लाष्टिकका झोलाहरू, बोतल, प्याकेजिङ सामग्री जताततै फ्यालिएको देखिन्छ । सडक, नदी, खोल्सामा जमेका प्लाष्टिकहरूले जलमार्ग अवरुद्ध पार्ने, सिँचाइ प्रणाली बिगार्ने, तथा बाढी र डुबानका खतरा बढाउने गर्छ । घरेलु फोहोरसँग मिसिएको प्लाष्टिक जलाउँदा निस्किने विषालु ग्यासहरूले वायुप्रदूषण त गर्छ नै, मानव स्वास्थ्यमा पनि नकारात्मक असर पार्दछ । डाइअक्सिन र फ्युरानजस्ता रसायनहरूले सास फेर्ने समस्यादेखि क्यान्सरसम्मका रोग निम्त्याउन सक्छन् ।

प्लाष्टिक व्यवस्थापनका लागि हालका प्रयासहरू सीमित र प्रभावकारी छैनन् । केही नगरपालिका तथा स्थानीय तहहरूले प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाए पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । प्लाष्टिक पुनःप्रयोग र पुनःप्रक्रिया (चभअथअष्लिन) गर्ने उद्योगहरू थोरै मात्रामा सञ्चालनमा छन्, र ती पनि असंगठित रूपमा ।

जनसचेतना कार्यक्रम
मापदण्ड विपरितका प्लाष्टिक प्रयोग सम्वन्धी जनचेतना अभिवृद्धिकालागि तिनै तहका सरकारहरुले विभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छन् । यसलाई कार्यक्रम विशेष भन्दा पनि अभियानकै रुपमा सञ्चालन गर्नु आवश्यक छ । यसै सन्दर्भमा वन क्षेत्रमा सहजिकरण गर्नेहरुको संस्था समुदायमा आधारित वन सहजकर्ता सञ्जाल, नेपाल (कफ्सन नेपाल) र डिभिजन वन कार्यालय ललितपुरका संयुक्त सहकार्यमा ‘प्लाष्टिक व्यवस्थापन सम्वन्धी सचेतना कार्यक्रम’को आयोजना गरेको थियो ।

कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुखको मुना अधिकारीको प्रमुख आतिथ्यतामा डिभिजन वन कार्यालय ललितपुरका प्रमुख, डिभिजन वन कार्यालय मरिणका प्रमुख, व्रजवाराही सव डिभिजन वन कार्यालयका वन अधिकृत, फेकोफन ललितपुर, स्थानीय सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरु, रेडक्रम उपशाखा, प्रहरी चौकी, जनभावाना क्याम्पसका प्रमुख लगायत विद्यार्थीहरु समेत गरी १०० जना जतीको सहभागीतामा चापागाउँ बजारमा सचेतना प्रभातफेरी गरिएको थियो । वातावरण संरक्षण र प्लाष्टिक प्रयोगको न्यूनीकरण सम्वन्धी सन्देशमुलक प्लेकार्ड र नारा सहित चापागाउँ वजार परिक्रमा गरिएको थियो । यस क्रममा वजारमा छरिएका प्लाष्टिक सकलन समेत गरिएको थियो ।

शहर परिक्रमा सहितको ¥याली पछि भएको सभामा विभिन्न विषयगत विज्ञ तथा व्यक्तिहरुले प्लाष्टिक उपयोग र यसको प्रभावका वारेमा चर्चा गर्नु भएको थियो । गोदावरी नगरपालिकाका उपप्रमुखको मुना अधिकारीको प्रमुख आतिथ्यतामा, कफसन नेपालका केन्द्रीय अध्यक्ष विना श्रेष्ठको अध्यक्षतामा र सोही संस्थाका महासचिव श्यामकृष्ण श्रेष्ठले औपचारिक सभा सञ्चालन गर्नु भएको थियो । डिभिजन वन कार्यालयका ललितपुरका प्रमुख संयोज बस्नेत, डिभिजन वन कार्यालय मरिणका प्रमुख अजयविक्रम मानन्धर, फेकोफन ललितपुरका अध्यक्ष प्रेम घिमिरे, जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेल, कफसन नेपालका संस्थापक अध्यक्ष भोला खतिवडा लगायतकाले कार्यक्रममा सम्वोधन गर्नु भएको थियो ।

सवाल सम्वोधनको संभावित उपाय
प्लाष्टिक व्यवस्थापन सम्वन्धी सवाल सम्वोधनकालागि अल्पकालिन र दिर्घकालिन उपायहरुको खोजी गर्नु आवश्यक छ । सभामा भएको छलफल अनुसार निम्न अनुसारका उपायहरु सुझाइएका छन् । समस्याको दीर्घकालीन समाधानका लागि बहुआयामिक प्रयास आवश्यक छ । सर्वप्रथम, नागरिक स्तरमै प्लाष्टिकको प्रयोग घटाउने बानी बसाल्नु पर्दछ । कपडा वा कागजका झोलाको प्रयोग, डिस्पोजेबल वस्तुको सट्टा पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गर्ने जस्ता अभ्यासले ठूलो परिवर्तन ल्याउन सक्छ । साथै, विद्यालयस्तरबाटै वातावरणीय शिक्षालाई प्राथमिकता दिई सचेतना अभिवृद्धि गर्न सकिन्छ ।

व्यक्तिगत रुपमा नैं केही प्रतिवद्धता जरुरी छ । जस्तैः हरेक व्यक्तिले गुट्खा, भोला, परागको प्रयोग गर्दैनौं । ती पदार्थका खोल कुनै पनि हालतमा सार्वजनिक रुपमा फाल्दैनौं । चकलेट खाएमा त्यसको खोल गोजीमा राखेर फोहोर फाल्ने ठाउँमा राख्नेछौं । बिस्कुट र चाउचाउ सकेसम्म प्रयोग गर्दैनौं गरे पनि खोल जताततै फाल्दैनौं । सामान बोक्न पातलो प्लास्टिक प्रयोग गर्दैनौं । प्लास्टिकका कपमा चिया खांदैनौं । पानी बोतलको प्रयोग गर्दैनौ गर्नै बोटलको विक्रोमा भएको प्लाष्टिक र बोतलनै जथाभावी फाल्दैनौं । प्लाष्टिक प्रयोग गर्नै पर्ने अवस्था आएमा पुन प्रयोगमा ल्याउने छौं ।

दोस्रो, सरकारले मापदण्ड विपरितका प्लाष्टिक उत्पादन, आयात तथा प्रयोगमा कडाइ गर्नुपर्छ । यस्ता प्लाष्टिकमा पूर्ण प्रतिबन्ध लगाएर वैकल्पिक सामग्री उत्पादनमा लगानी गर्न प्रोत्साहन दिन सकिन्छ । प्लाष्टिक संकलन, छुट्याउने र पुनःप्रक्रियाको संयन्त्र विकास गर्नु जरुरी छ। निजी क्षेत्रसँग सहकार्य गरी आधुनिक रिसाइकल उद्योग स्थापना गर्न सकिन्छ ।

तेस्रो, स्थानिय सरकार तथा सामुदायिक संस्थाहरूले प्लाष्टिक संकलन तथा व्यवस्थापनका लागि अभियान सञ्चालन गर्नु आवश्यक छ । उदाहरणका लागि, “एक घर – एक झोला“ कार्यक्रम, वा “प्लाष्टिक फिर्ता अभियान“ जस्ता सन्देशमूलक कार्यक्रमहरू सञ्चालन गरी समुदायलाई सहभागी गराउन सकिन्छ । कुनै निजि क्षेत्रले प्लाष्टिकको अनियन्त्रीत प्रयोगलाई नियन्त्रण गर्न सक्दछ भने सरकारी तवरबाट गर्न नसकिने भन्ने सन्दर्भ आउँदैन तर नियामक निकायको बेवास्ताले विगारेको छ ।

अन्ततः, प्लाष्टिक व्यवस्थापन केवल सरकार वा संस्थाहरूको मात्र जिम्मेवारी होइन । प्रत्येक नागरिकले आफूले उत्पादन गर्ने फोहोरप्रति जिम्मेवार हुनु आवश्यक छ। यसरी, व्यक्तिगत चेतना, सरकारी नीति र सामाजिक सहभागिताको त्रिकोणीय संयोजनले मात्रै नेपालमा दीगो प्लाष्टिक व्यवस्थापन सम्भव हुनेछ । यसमा सवैको सामुहिक पहल र व्यक्तिगत जिम्मेवारी आवश्यक पर्दछ । त्यसैले प्लाष्टिको प्रयोग कम गरौं, पुनः प्रयोग गरौं, हानीकारक हुने मापदण्ड विपरितका प्लाष्टिकको प्रयोगमा वन्देज गरौं । आफैबाट सुरुवात गरौं । सबैले खवरदारी गरौ । यस्ता कामहरु कार्यक्रमको रुपमा मात्र नगरी अभियानकैं रुपमा आत्मसात गरौं । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *