काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं साधारणसभा चैत २९ सम्पन्न हुँदैछ । संघको निर्वाचनमा अध्यक्षको लागि भुवन सिंह गुरुङ र नरेश गेलालले आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । संघको कार्यसमितिमा २१ सदस्यीय रहने छ । त्यसमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदको प्रत्यक्ष निर्वाचन हुने छ भने ४ जना कार्यसमिति सदस्य नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चको प्यानलबाट अध्यक्ष पदको लागि संघका पूर्वद्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवनसिंह गुरुङले उम्मेदवारी दिएका छन् । गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा.लि.का सञ्चालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा.लि.का सञ्चालक देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा.लि.का सञ्चालक हर्कबहादुर लिम्बुले उम्मेदवारी दिएका छन् । त्यसैगरी महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का सञ्चालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङ प्रा.लि.का सञ्चालक कुन्छा दोर्जे दिम्दोङ र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा.लि.का सञ्चालक विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी गुरुङ प्यानलबाट कार्यसमिति सदस्यमा इम्पेरियल ओभरसिज प्रा.लि.की सञ्चालक विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रा.लि.का सञ्चालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा.लि.का सञ्चालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा.लि.का सञ्चालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा.लि.का कैलाश पाठक, ग्लोबल एचआर हब प्रा.लि.की सञ्चालिका गीता राउत, युनिभर्स एच.आर. सोलुसन प्रा. लि.का सञ्चालक भरत सापकोटा, रिजा ओभरसिज प्रा.लि.की सञ्चालिका रेखा शर्मा र इगल म्यानपावर कन्सल्टेन्ट प्रा.लि.का सञ्चालक कृष्ण ढकालले उम्मेदवार उम्मेदवारी दिएका छन् ।
संघको निर्वाचनको लागि दुवै समूहले आ–आफ्नो प्रतिवद्धता जारी गरेका छन् । चुनावी प्रतिवद्धतामा गुरुङले कुनै पनि आवरणमा हुने सिन्डिकेटको विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेको बताउँदै विभिन्न भ्रम छरेर संघको निर्वाचनमा विरोधी प्यानल आएकोले त्यसमा व्यवसायी सचेत हुनुपर्ने दावी गरेका छन् । प्रथम उपाध्यक्षका उम्मेदवार नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार क्षेत्रमा सुधार गर्न र सिन्डिकेटलगायत व्यवसायीविरोधी गतिविधि रोक्न अधिकतम प्रयास गर्ने आफ्नो प्यानलको लक्ष्य रहेकोे बताउँदै व्यवसायीलई घात गर्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
द्वितीय उपाध्यक्षका उम्मेदवार देव खोखालीले वैदेशिक रोजगार विभागमा पीडितका नाममा हुने अराजकताको अन्त्य र व्यवसायी सुरक्षाका लागि काम गर्ने बताएका छन् । तृतीय उपाध्यक्षका उम्मेदवार हर्क लिम्बुले व्यवसायी एकतामा जोड दिँदै इमान्दार र कर्तव्यनिष्ठ व्यवसायीलाई मत दिन आग्रह गरेका छन् । त्यस्तै महासचिवका उम्मेदवार महेशकुमार बस्नेतले व्यवसायीलाई पेसा टिकाउने अवस्था निर्माण गर्ने, वैदेशिक रोजगारलाई सेवा उद्योगका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
त्योसँगै उनले व्यवसाय र व्यवासयी शुद्धीकरण गरी सम्मानित बनाउने र बिनाप्रमाणका उजुरी दर्ता रोक्न संयन्त्र बनाउनाई व्यवसायीलाई अनावश्यक दुःख दिनेको पहिचानका लागि ब्ल्याक लिस्ट सफ्टवेयर निर्माण गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । सचिव पदका उम्मेदवार कुन्छा दोर्जे दिम्दोङले व्यवसायीलाई समस्या र आर्थिक भार पार्नेगरी वैदेशिक रोजगार ऐनमा संशोधन गर्न लागिएको अवस्थामा त्यसलाई रोक्न संघको नेतृत्व इमान्दार, बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । त्यसैगरी कोषायक्षका उम्मेदवार विक्रम श्रेष्ठले विभिन्न स्रोतहरूको खोजी गरी आर्थिक रूपमा संघलाई बलियो बनाउने दाबी गरेका छन् ।
उता, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्थाहरुसमेतको तालमेलमा संयुक्त व्यवसायी समूहको अध्यक्षमा संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष एचआर इन्टरनेसनल सर्भिस प्रा.लि.का सञ्चालक नरेश गेलालले उम्मेदवारी दिएका छन् । गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा.लि.का सञ्चालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यू अल्फा एचआर प्रा.लि.का सञ्चालक बैकुण्ठ पौडेल (वैभव), महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का सञ्चालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा.लि.का सञ्चालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा.लि.की सञ्चालक धनु सिँजालीले उम्मेदवारी दिएकी छिन् ।
त्यसैगरी कार्यसमिति सदस्यको लागि माउन्टेन ग्रुप प्रा.लि.का सञ्चालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा.लि.का सञ्चालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लि.की सञ्चालिका हिमा गुरुङ, रियो ओभरसिज प्रा.लि.की सञ्चालिका रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा.लि.का सञ्चालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा.लि.का सञ्चालक कामेश्वर साह राहुल, सिगल ओभरसिज प्रा.लि.का सञ्चालक छत्र बस्नेत, डेस्टिनी ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक युवराज देवकोटा र गल्फ एसिया म्यानपावर प्रा लि.का सञ्चालक राजेश यादवले उम्मेदवारी दिलएका छन् ।
अध्यक्षका उम्मेदवार गेलालले संघलाई राजनीतिक खिताचानीमुक्त बनाउने र व्यवसायीको रोजीरोटी खोस्न जापान, कोरिया अथवा मलेसिया जुनसुकै देश र आवरणमा आउने सिन्डिकेटका विरोधमा आमरण अनशन बस्ने अवस्थासमेत पुगेर प्रतिरोध गर्ने प्रतिबद्धता जनाएका छन् । त्योसँगै सिन्डिकेटमा समर्थन जनाउनु आमाको रगत खानु सरह भएको बताएका छन् ।
अघिल्लो पटक महासचिव हुँदा पनि प्रतिरोध गरेको र आगामी दिनमा पनि सशक्त प्रतिरोधमा उत्रने गेलालको दावी छ । उनले आफू मञ्चको अध्यक्ष हुँदा युरोप भ्रमण गरेर रोजगारीको ढोका खोल्न महत्त्वपूर्ण भूमिका खेलेको र हाल नेपाली राजदूतावासमा रहेको इच्छा लागेका फाइल आधा घण्टामा गर्ने र इच्छा नलागेकालाई महिनौं झुलाउने परिपाटी अन्त्य गर्न अटोमेसन पद्धतिका लागि पहल गर्ने बताएका छन् ।
त्यस्तै प्रथम उपाध्यक्षका उम्मेदवार सुजितकुमार श्रेष्ठले विगतमा यूएई सिन्डिकेट परास्त गरेको, हाल जापान र मलेसियाका नाममा लगाउन खोजिएको सिन्डिकेटलाई पनि परास्त गर्ने बताएका छन् । द्वितीय उपाध्यक्षका उम्मेदवार मधुकर रिजालले वैदेशिक रोजगार ऐनभित्रका जस्तोसुकै समस्या चिर्न आफ्नो उम्मेदवारी रहेको दावी गरेका छन् ।
तृतीय उपाध्यक्षका उम्मेदवार बैकुण्ठ पौडेल वैभवले कूटनीतिक नियोगहरूसँग समन्वय गरेर समस्या समाधान गर्न सकिने अनुभवका आधारमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् । त्यस्तै महासचिवका उम्मेदवार कर्णराज कटुवालले मागपत्र प्रमाणीकरण, संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधान, धरौटीबाट व्यवसायीलाई ब्याज दिलाउनेलगायतका सुधारोन्मुख काम गर्ने प्रतिवद्धता जनाएका छन् । सचिवका उम्मेदवार अनिल बोगटीले व्यवसाय व्यवस्थित गरी सिन्डिकेटविरुद्ध लड्न आफ्नो उम्मेदवारी रहेको जनाएका छन् । त्यस्तै कोषाध्यक्षकी उम्मेदवार धनु सिँजालीले संघलाई नवीन आर्थिक सोचका साथ अगाडि बढानुका साथै मेडिकल बिचौलियाको अन्त्य गर्ने, आर्थिक रूपमा मीतव्ययी बनेर व्यवसायीलाई कारोबारको मासिक जानकारी गराउनेलगायतका काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
विगतका निर्वाचनमा पनि उम्मेदवारहरुले मिठा प्रतिवद्धता नजनाएका होइनन् । तर, तिनीहरुले निर्वाचन जितिसकेपछि व्यवसायीको हितमा माखो मार्ने काम गरेका थिएनन् । उल्टै पद भँजाएर आफ्नो व्यवसाय बढाउने, विश्वको विभिन्न देश भ्रमण गर्ने, खाडी मुलुकमा म्यानपावर एजेन्टलाई नेपाल भ्रमण गराएर उनीहरुलाई खुसी पारेर आफ्नो व्यवसाय बढाउने काम गर्दै आएका थिए । त्योसँगै सय संख्याको सिन्डिकेट लगाएर साना व्यवसायीको घाँटी निमोठ्ने काम पनि नगरेका होइनन् । पर्सी हुने ३१ औं साधारणसभाबाट निर्वाचित हुने नयाँ कार्यसमितिले पनि पदको आडमा आफ्नो व्यापारव्यवसाय बढाउन दुनो स्याउने काम नगर्लान भन्न सकिन्न ।