काठमाडौं । भू–माफियाहरुको मिलेमतोमा सरकारी जग्गा हडपेको समाचार सञ्चार माध्यममा व्यापक आउन थालेको छ । सञ्चार माध्यमहरुमा जताततै सरकारी जग्गा हडपेको समाचार आइरहँदा पनि भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयले चासो देखाएको पाइँदैन । अधिकांश मालपोत कार्यालयमा भू–माफिया र कर्मचारीहरुको सेटिङ चल्ने गरेको छ । खासगरी उपत्यकाभित्र काठमाडौंको साँखु मालपोत कार्यालयका कर्मचारी र भूमाफियाहरुको व्यापक साँठगाँठ चल्ने गरेको समाचार स्रोतको भनाइ छ ।
त्योसँगै मनमैजु, टोखा, कलंकी र ललितपुर मालपोतमा भू–माफिया र कर्मचारीको सेटिङ व्यापक झांगिएको स्रोतको दावी छ । यी मालपोत कार्यालयहरुमा विचौलियाहरु र लेखनदासहरुले आफूखुशी प्रवेश गरी दराजमा राखिएका सरकारीदेखि व्यक्तिका जग्गाको फाइल मनलाग्दी ढंगले बाहिर लाने गरेको पाइन्छ । विचौलियाहरुको यस्तो हर्कतले गर्दा अधिकांश जग्गाको कागजात हराउने र प्रमाण नष्ट गर्ने धन्दा चलिरहेका छन् । विचौलियाहरु कार्यालयमा प्रवेश गरेर मनपरी ढंगले गोप्य फाइलहरु बाहिर ल्याएर हराउने, नष्ट गर्ने गर्दा पनि मालपोतका कार्यालयका कर्मचारी र प्रमुखहरु देखेको नदेखेझैं गरेर बस्ने गरेका छन् । त्यसैगरी नुवाकोटस्थित शेरा दरबारको नाममा रहेको १ सय ६४ रोपनी सरकारी जग्गा विचौलिया र मालपोतका कर्मचारीहरुको मिलेमतोमा हिनामिना गरेको समाचार सञ्चार माध्यममा नआएको होइन ।
उता ललिपुर जिल्लाको महालक्ष्मी नगरपालिका इमाडोल–६, ‘घ’ को फिल्डबुकमा कित्ता नम्बर ४७५, कित्ता नम्बर २४३५ र कित्ता नम्बर २४५१ को जग्गा भू–आफिया र कर्मचारीको मिलेमतोमा हिनामिना गरिएको समाचार पनि सञ्चार माध्यममा आइरहेको छ । ललितपुर मालपोत प्रमुखमा जीवन सेढाईँ रहेका छन् । सेढाईँले पोखरा यातायात कार्यालयहुँदै विभिन्न मालदार अड्डामा बसेसँगै शहरी विकासमन्त्रालयमा लामो समय बिताएका थिए । सेढाईँ शहरी विकासमन्त्रालयबाट भूमि, सहकारी तथा गरिवी निवारणमन्त्रालयमा सरुवा भएर करिव डेढमहिना हाराहारी भूमिका बिहीन भएर बसेका थिए । त्यतिबेला भूमि सचिव थिए गोकर्णमणि दुवाडी ।
सेढाईँले आफू ललितपुर मालपोत जानको लागि सचिव दुवाडीको चाकडी गरे तापनि पत्याएनन् । सचिवले नपत्याएपछि भूमिमन्त्री बलराम अधिकारीलाई प्रयोग गरेर ललितपुर मालपोत कार्यालय जान सफल भएका थिए सेढाईँ । ललितपुर मालपोत पुगेपछि सेढाईँले ललितपुर मालपोतलाई नमुना कार्यालय बनाउँछु भनेर गुड्डी हाँकेका थिए । उनै सेढाईँ अहिले ललितपुरको मालपात कार्यालय प्रमुख छन् तर न उनले ललितपुर मालपोतलाई नमुना कार्यालय नै बनाउन सकेका छन् न त भू–माफियाहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सकेका छन् ।
उल्टै ‘आफूलाई ५० लाख ऋण लागेको छ । त्यो ऋण तिर्न पाए जागिरबाट अवकास लिन्थेँ’ भन्दै हिड्ने गरेको चर्चा ललितपुर मालपोत कार्यातिर सुन्ने गरिन्छ । सेढाईँले भन्ने गरेका छन्, ‘यो अड्डामा आएपछि त कहिले सर्वोच्चमा पेसी, कहिले सिडिओ कार्यालयमा मिटिङ, कहिले मन्त्रालयमा मिटिङ त कहिले विभागमा मिटिङ गर्दै दिन बित्ने रहेछ अनि कसरी काम गर्नु’ भनेर गुनासो पोख्ने गरेको स्रोतको भनाइ छ ।